मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संवैधानिक नियुक्तिसम्बन्धी विवादको फैसला असार १८ मा आउने

संवैधानिक नियुक्तिसम्बन्धी विवादको फैसला असार १८ मा आउने

न्यूजस्टोरी

काठमाडौं, २९ जेष्ठ । संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा दायर मुद्दाको फैसला आउँदो असार १८ गते आउने भएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको संवैधानिक इजलासमा रहेको मुद्दामा हिजो फैसला आउने भनिए पनि निर्णय सुनाउने मिति सरेको हो ।

यसअघि गएको जेठ १ गते सुनुवाइ सकिएपछि हिजोको लागि निर्णय सुनाउने मिति तोकिएको थियो । तर न्यायाधीशहरुबीच हिजो दिनभर छलफल भए पनि फैसलाबारे निर्णय हुन सकेन ।

केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले २०७७ र २०७८ सालमा दुई चरणमा गरी अध्यादेशमार्फत संवैधानिक निकायमा ५२ पदाधिकारी नियुक्त गरेकोमा ती नियुक्तिहरू ‘गैरकानूनी’ रहेको दाबी गर्दै चार वर्षअघि सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो ।

गएको माघ ३० गतेसम्म रिटमा सुनुवाइ नै थालेको थिएन । त्यसअघि १० पटकसम्म ‘हेर्न नभ्याइने’मा परेर पेसी सरेको थियो । गएको माघ ३० गते निरन्तर सुनुवाइ गर्न ‘हेर्दाहेर्दै’ मा राखेर अघि बढाइएको थियो ।

गएको वैशाख २८ र ३० तथा १ जेठको सुनुवाइबाट बहस सकिएपछि संवैधानिक इजलासले हिजोको लागि निर्णय सुनाउने मिति तय गरेको थियो । तर हिजो पनि निर्णय हुन नसकेर असार १८ गतेलाई सरेको हो ।