काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यपालिकाका सदस्यहरूले जतिसक्दो छिटो बैठक राख्न माग गर्दै मेयर बालेन्द्र शाह बालेनलाई पत्र बुझाएका छन् । सोमबार उपमेयर सुनिता डंगोलसहित कार्यपालिकाका ४१ जना सदस्यहरूले मेयर शाहलाई पत्र लेख्दै चाँडो कार्यपालिका बैठक बोलाउन आग्रह गरेका हुन् ।
महानगरको कार्यपालिका बैठक गत पुस महिनायता बस्न सकेको छैन । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १७ (१) अनुसार कार्यपालिका बैठक कम्तीमा महिनामा एकपटक बस्नुपर्ने कानुनी व्यवस्था छ ।
कार्यपालिका सदस्य नवीन मानन्धरले बैठक बस्न नसक्दा विकास निर्माण, नीतिगत निर्णयजस्ता महत्वपूर्ण विषयहरू अन्योलमा परेकोले बैठक राख्न माग गर्दै पत्र लेखिएको बताए । ‘असार १५ भित्र बजेट ल्याउनुपर्ने कानुनी बाध्यता छ,’ उनले भने, ‘तर बैठक नबसी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणका प्राथमिकतामाथि छलफल हुन सकेको छैन ।’
पटकपटक आग्रह गर्दा पनि बैठक नबोलाएको भन्दै सदस्यहरू मेयर बालेनसँग असन्तुष्ट छन् । जनता र जनप्रतिनिधिले खोज्दा पनि मेयर नभेटिएको गुनासो गर्दे उनीहरूले सामाजिक सञ्जालको स्टाटस हेरेपछि मात्रै मेयरबारे जानकारी हुने गरेको भन्दै कटाक्ष पनि गरेका छन् ।


प्रतिक्रिया