मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हावाहुरीले उडायो घरको छानो, खुला आकाशमुनि बास

हावाहुरीले उडायो घरको छानो, खुला आकाशमुनि बास

न्यूजस्टोरी

उदयपुर  । ‘सम्पत्तिको नाममा यही एउटा घर थियो । त्यो पनि हावाहुरीले उडाइदियो । अब कहाँ बस्ने, के खाने ?’ उदयपुरगढी गाउँपालिका–८ गडरेकी ३७ वर्षीया कुमारी बयालकोटी अहिले विलौना गरिरहेकी छन्। बुधवार दिउँसो ४ बजे आएको हावाहुरीले काठ र टिनले बनेको एक तल्ले घर भत्काइदिएपछि कुमारीको परिवार यति बेला खुल्ला आकाशमुनि बस्न बाध्य छन्।

‘२०७८ सालमा वडा कार्यालयले अति विपन्न भनेर टिनको छानो लगाइदिएको थियो, बुधवारको हावाहुरीले जस्ता मात्रै उडाएन, घरमा भएका अन्नपात, लुगाकपडा सबै उडाइदियो, अब कहाँ जाने ?,’ उनले दुखेसो पोखिन् । कुमारीको परिवारमा १२ वर्षकी एउटी छोरी, ६ वर्षको एउटा छोरा र श्रीमान् छन् ।

‘नशा सम्बन्धी रोगका कारण थलिएर बसेका ३९ वर्षीय श्रीमान् काम गर्न सक्दैनन्, मेरो पनि पेटको शल्यक्रिया गरेको, गह्रौँ काम गर्न सक्दिन, परिवार चलाउन पनि धौ-धौ छ,’ कुमारीले बताइन्। आर्थिक अवस्था समेत दयनीय रहेको र बाहिर काम गरेर खान नसक्ने अवस्था भएपछि वडा कार्यालयले अनुदानमा २ वटा बाख्रा दिएको थियो। कुमारीले सुँगुरपालन गर्न खोर समेत बनाएकी थिइन् । तर हावाहुरीले सबै उडाइदियो ।

‘म त गाउँतिर गएकी थिएँ, एक्कासी ठुलो हावाहुरी आयो, छोराछोरी घरमै भएकाले आत्तिएर आएँ, घरको सामानहरू झरेर छोरीको खुट्टा काटेर चिच्याएपछि छिमेकी बहिनीले छोरीलाई जंगलमा लगेर छाडिछन्, जसोतसो ज्यान त बच्यो, तर सम्पत्तिको नाममा रहेको एउटै घर थियो, उडायो,’ उनले भनिन् ।