मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिङ्गापुरले भ्रष्टाचार भएको पैसा पठाइदिन्छु भने पनि सरकारले सहयोग गरेन : अख्तियार प्रमुख राई

सिङ्गापुरले भ्रष्टाचार भएको पैसा पठाइदिन्छु भने पनि सरकारले सहयोग गरेन : अख्तियार प्रमुख राई

न्यूजस्टोरी

काठमाडौं, २४ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सरकारले सहयोग नगरेको बताउनुभएको छ ।

राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा प्रमुख आयुक्त राईले भ्रष्टाचारबाट आर्जन गरेर सिङ्गापुर, अमेरिका र युरोपमा लुकाइएको सम्पत्ति नेपाल फर्काउन दोस्रो पक्ष सहमत भए पनि सरकारले नचाहेको बताउनुभएको हो । उहाँले भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा राखिएको सम्पत्ति फिर्ता गर्न सांसदहरूलाई आग्रहसमेत गर्नुभयो । यस सम्बन्धमा काम गर्न सरकारले कार्यदल गठन गरे पनि द्रुत गतिमा काम नगरेको उहाँको गुनासो छ ।

प्रमुख आयुक्त राईले अख्तियार अनुसन्धानमा राजनीतिक दबाव र प्रभाव नरहेको दाबी गर्नुभयो । उहाँले आफूले कार्यकाल सम्हालेपछि कुनै पनि शीर्ष नेतृत्वबाट मुद्दा चलाउनू-नचलाउनू भनी दबाव नआएको बताउनुभयो । उहाँले भ्रष्टाचार र अनियमिततामा संलग्न ठूलो नेक्सस भएकाहरूमाथि अनुसन्धान गरिएको दाबी गर्नुभयो । भ्रष्टाचारमा संलग्न कर्मचारीहरूले माथिल्लो तहको संलग्नताबारे मुख खोल्ने नगरेका कारण अनुसन्धान प्रभावित हुने गरेको राईको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘विगतमा के भयो थाहा छैन, मैले आफ्नो कार्यकाल सम्हालेपछि केही कुरामा विमति होला । कसैको केही प्रभाव परेको पनि होला । तर कुनै पनि राजनीतिक नेतृत्वबाट मुद्दा लैजानू र नलैजानू भनेर भनेको छैन । हामीले अहिले पनि सिङ्गापुर, अमेरिका र युरोपमा भएको पैसा ल्याउनसक्ने अवस्था छैन । सिङ्गापुरले त भ्रष्टाचार भएको पैसा पठाइदिन्छु भने पनि सरकारको तर्फबाट काम अगाडि बढेन । कार्यदल बनाए पनि काम भइरहेको छैन ।’

प्रमुख आयुक्त राईले भ्रष्टाचार अब देशभित्र मात्र सीमित नभई अन्तर्राष्ट्रियकरण भइसकेको उल्लेख गर्नुभयो । उहाँले भ्रष्टाचारमा संलग्न हुने गैरआवासीय नागरिकहरूको सङ्ख्या उल्लेख्य मात्रामा रहेको दाबी गर्नुभयो ।