मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एक सातादेखि लुक्लाको हवाई उडान प्रभावित, आइतबार बिहानैदेखि ठप्प

एक सातादेखि लुक्लाको हवाई उडान प्रभावित, आइतबार बिहानैदेखि ठप्प

न्यूजस्टोरी

काठमाडौं । सोलुखुम्बुको लुक्लाका लागि आज बिहानैदेखि कुनै पनि उडान हुन सकेको छैनन् । मौसममा खराबीका कारण लुक्लाको हवाई उडान ठप्प भएको हो ।

‘बिहानैदेखि लुक्ला उडान हुन सकेको छैन । मौसम खराबीका कारण लुक्लाको उडान ठप्प छ’, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले भने । प्रवक्ता शेर्पाका अनुसार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेन्जिङ हिलारी विमानस्थल लुक्लामा आज एउटा पनि उडान भएको छैन । बिहान ६ बजेदेखि नै उडानको तालिका रहे पनि हालसम्म उडान हुन नसकेको हो ।

समिट, सिता र तारा एयरको बिहान ६ बजे लुक्ला विमानस्थलमा उडान भर्ने तालिका रहेको थियो । त्यसयता बुद्ध, यति र श्री एयरलाइन्सका तालिका अनुसार कुनै उडान हुन सकेको छैन । मोसम खराबीको कारण यी सबै उडान ‘डिले’ तालिकामा राखिएको छ ।

मौसम खराब भएका कारण आइतबार उडान हुने सम्भावना नरहेको तेन्जिङ हिलारी विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर अमन चन्द्र झाले बताउँछन् । उनले भने, ‘बिहानैदेखि यहाँ मौसम राम्रो छैन । आज एउटा पनि उडान हुन सकेको छैन । दिनभरि नै हुने सम्भावना देखिँदैन ।’

उनका अनुसार मौसमकै कारण लुक्लाको उडान समय समयमा प्रभावित हुँदै आएका छ । पछिल्लो एक साता यतादेखि तालिका अनुसार नियमित उडान हुन नसकेको उनले जानकारी दिए ।

लुक्लाको उडान ठप्प हुँदा सोलुखुम्बु र काठमाडौं आवत–जावत गर्ने यात्रुहरू मार्कामा परेका छन् ।