काठमाडौं । हङकङमा जारी चारदेशीय टि–२० सिरिजमा नेपालले सानदार विजयी सुरुवात गरेको छ । आज भएको खेलमा नेपालले कतारमाथि ८ विकेटको जित दर्ता गरेको हो । कतारले दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा मात्र २ विकेटको क्षतिमा पूरा गरेको हो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले १९ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ३८ रन बनाए । साथै अर्का ओपनर आशिफ शेखले ३३ रन जोडे भने कप्तान रोहितकुमार पौडेल ३७ रन तथा बसिर अहमद ३० रनमा अविजित रहे ।
हङकङको मिसन ग्राउन्ड रोड मङ कोकमा आज भएको सिरिजको उद्घाटन खेलमा नेपालले टस जितेर बलिङ रोजेपछि ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १५१ रन जोडेको थियो । कतारका लागि कप्तान इक्रामुल्लाह खानले सर्वाधिक ५४ रनको अर्धशतकीय इनिङ खेले । साहजैवले ३१ रन जोडे ।
मुजीब-उर-रहमान २० रनमा अविजित रहे ।
बलिङतर्फ नेपालका सोमपाल कामी, करण केसी, नन्दन यादव, गुलसन झा र ललित राजवंशीले समान एकएक विकेट लिए । चारदेशीय सिरिजमा नेपाल, हङकङसहित कतार र कुवेत छन् । सिरिजमा प्रत्येक टोलीले प्रत्येकसँग खेल्नेछ । शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् ।


प्रतिक्रिया