मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वर्षभर सर्वाधिक चर्चामा रहेका मेस्सीको पाँच अविस्मरणीय क्षण

वर्षभर सर्वाधिक चर्चामा रहेका मेस्सीको पाँच अविस्मरणीय क्षण

न्यूजस्टोरी


काठमाडौँ । सम्भवतः सन् २०२३ मा विश्व खेलकुदमा सबैभन्दा बढी चर्चामा रहेका खेलाडी हुन्, अर्जेन्टिनी स्टार लियोनल मेस्सी । समकालीन विश्व फुटबलका यी महान् खेलाडी विभिन्न कारणले वर्षभरि नै चर्चामा रहे ।

३६ वर्षीय यी अर्जेन्टिनी स्ट्राइकर अप्रत्यासित निर्णय लिँदै यसै वर्ष अमेरिकी व्यावसायिक लिग खेल्न अमेरिका पुगे । उनी अमेरिकी क्लब इन्टर मियामीमा आबद्ध हुनुअघि पनि लामो समय विश्व फुटबलमा चर्चाको पात्र बनिरहे ।

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन ९पीएसजी० छाडेपछि धेरैले मेस्सी पुनः आफ्नो पुरानै क्लब बार्सिलोना फर्कने लख काटेका थिए । बार्सिलोनाले पनि उनलाई भित्र्याउन सक्दो प्रयास गरेको थियो । अर्कोतिर, मेस्सी साउदी अरेबियाको व्यावसायिक लिगसँग जोडिने अनुमान पनि धेरैले लगाए ।

साउदी क्लबहरूले पटक–पटक मेस्सीका प्रतिनिधिसँग छलफल पनि गरे । तर, धेरैको अनुमान विपरीत मेस्सी खासै चर्चामा नरहेको मेजर लिग सकर ९एमएलएस० खेल्न अमेरिका पुगे । यसका अतिरिक्त यही वर्ष उनले कीर्तिमानी रूपमा आठौँ पटक बालोन डी’ओरको उपाधि पनि जिते ।

यसदेखि बाहेक पनि विभिन्न कारणले मेस्सी यो वर्ष सधैँ चर्चाको शिखरमा रहे । विश्व खेलकुदमा विभिन्न तिता–मिठा छापहरू छाडेर सन् २०२३ हामीसँग बिदा हुँदै गर्दा यो वर्ष अर्जेन्टिनाका यी महान् खेलाडीको खेल जीवनसँग जोडिएका प्रमुख पाँच घटनाको विषयमा यहाँ चर्चा गर्न खोजिएको छ ।

आठ सय गोलको कोशेढुंगा
फाइनलमा फ्रान्सलाई हराउँदै कतार विश्वकपको उपाधि चुमेपछि अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीले पहिलो पटक पानामासँग मैत्रीपूर्ण खेल खेलेको थियो । सन् २०२३ को मार्च अन्तिम साता घरेलु मैदानमा खेलिएको उक्त अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले पानामालाई २–० गोलले हराएको थियो ।

हजारौँ घरेलु समर्थकमाझ ब्युनस एयर्समा खेलिएको उक्त मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाका लागि कप्तान लियोनल मेसीले पनि एक गोल गरेका थिए । अर्जेन्टिनाका लागि खेलको ७८औँ मिनेटमा थिआगो अल्माडाले पहिलो गोल गरेका थिए ।

निर्धारित समयको खेल सकिनुभन्दा एक मिनेटअघि मेस्सीले टोलीका लागि दोस्रो गोल थपेका थिए । मेसीले गरेको त्यो गोल उनले आफ्नो सक्रिय खेल जीवनमा गरेको आठ सयौँ गोल थियो । मेस्सीले ८९औँ मिनेटमा फ्रिकिकमार्फत त्यो गोल गरेका थिए ।

त्यो खेलमा पानामालाई हराएपछि अर्जेन्टिनाका समर्थकले आफ्ना खेलाडीहरूसँग विश्वकप जितेको खुसीयाली पनि मनाएका थिए । अर्जेन्टिनी टोलीले मेस्सीकै कप्तानीमा कतार विश्वकपको उपाधि चुमेको थियो ।

‘डेब्यू’ खेलमै उत्कृष्ट फ्रिकिक गोल
मेस्सी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन ९पीएसजी० छाडेर अमेरिकी क्लब इन्टर मियामीमा आबद्ध भएका थिए । इन्टर मियामीमा आबद्ध हुनुअघि ३५ वर्षीय मेस्सीले युरोपकै चर्चित क्लबहरूबाट व्यावसायिक फुटबल खेलेका थिए ।

बार्सिलोनाका दुई स्टार खेलाडी मेस्सी र सर्जियो बुस्केट्सलाई सन् २०२३ को जुलाई १६ तारिखमा इन्टर मियामीमा औपचारिक रूपमा स्वागत गरिएको थियो । त्यसको केही दिनपछि नै मेस्सीले इन्टर मियामीबाट औपचारिक रूपमा ‘डेब्यू’ खेल खेलेका थिए ।

लिग्स कपअन्तर्गत खेलिएको क्रुज अजुलविरुद्धको उक्त खेलमा मेस्सी परिवर्तित खेलाडीका रूपमा मैदानभित्र प्रवेश गरेका थिए । गत जुलाईमा खेलिएको त्यो खेलमा मेस्सीले गरेको निर्णायक गोलमा इन्टर मियामी विजयी भएको थियो । मेस्सीले फ्रिकिकमार्फत गरेको त्यो गोल निकै उत्कृष्ट थियो । उनले गरेको त्यो गोलले लामो समयसम्म चर्चा पाएको थियो ।

मियामीलाई ऐतिहासिक उपाधि

मेस्सीको सक्रिय खेलजीवनभन्दा पनि छोटो इतिहास बोकेको क्लब हो, इन्टर मियामी । मेस्सीले अर्जेन्टिनी राष्ट्रिय टोलीबाट खेल्न थालेको १८ वर्ष पुगिसकेको छ । उनले सिनियर टोलीबाट व्यावसायिक लिग खेल्न थालेको त १९ वर्ष पुरा भइसकेको छ ।

तर, इन्टर मियामीको स्थापना नै सन् २०१८ को जनवरी २९ तारिखमा भएको हो । मेस्सी आबद्ध हुनुअघि इन्टर मियामीले कुनै प्रतियोगिताको उपाधि चुम्नु त टाढाको कुरा कुनै प्रतियोगितामा महत्त्वपूर्ण जितसम्म हात पार्न सकेको थिएन ।

तर, आफू क्लबमा आबद्ध भएको पहिलो सिजन नै मेस्सीले आफ्नो कप्तानीमा इन्टर मियामीलाई लिग्स कपको उपाधि चुमाएर व्यापक चर्चा बटुले । उनले इन्टर मियामीमात्र होइन, अमेरिकी ब्यवसायीक फुटबललाई नै विश्वब्यापी रूपमा चर्चाको शिखरमा पुर्‍याए । इन्टर मियामीलाई लिग्स कपको उपाधि दिलाउने क्रममा उनले पाँच खेलमा आठ गोल गरेका थिए ।

अर्जेन्टिनासँग ब्राजिलको ऐतिहासिक हार

विश्व क्रिकेटमा भारत र पाकिस्तानबिचको खेलले जति महत्त्व पाउने गरेको छ त्योभन्दा ठुलो महत्त्व विश्व फुटबलमा अर्जेन्टिना र ब्राजिलबिचको खेलले पाउने गरेको छ । पछिल्लो पटक गत नोभेम्बरमा अर्जेन्टिना र ब्राजिलबिच विश्वकप फुटबलको छनोट खेल भएको थियो ।

उक्त खेलमा अर्जेन्टिनाले ब्राजिललाई १–० गोलले हराएको थियो । उक्त खेल ब्राजिलको रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा खेलिएको थियो । ब्राजिलका लागि अर्जेन्टिनासँगको त्यो हार निकै निराशाजनक थियो ।

त्यसअघि आफ्नो घरेलु मैदानमा खेलिएको विश्वकप फुटबलको छनोट खेलमा ब्राजिलको टोली कहिल्यै पराजित भएको थिएन । ब्राजिलविरुद्धको त्यो खेलमा मेस्सीले उत्कृष्ट प्रदर्शन गरेका थिए । यद्यपि, सोही खेलपछि मेस्सीको मांसपेशी सम्बन्धी समस्या पनि बल्झिएको थियो ।

आठौँ पटक बालोन डी’ओर अवार्ड
मेस्सीले सन् २०२३ मै अर्को महत्त्वपूर्ण कीर्तिमान पनि बनाए । आफ्नै कीर्तिमान तोडेर उनले आठौँ पटक बालोन डी’ओर अवार्ड जिते । गत वर्ष कतारमा भएको विश्वकपमा अर्जेन्टिनालाई उपाधि जिताउन नेतृत्वदायी भूमिका निर्वाह गरेका मेस्सीलाई पेरिसमा आयोजित समारोहमा बालोन डी’ओर अवार्ड प्रदान गरिएको थियो ।

मेस्सीले म्यानचेस्टर सिटीका फरवार्ड अर्लिङ हल्यान्डलाई पछि पार्दै कीर्तिमानी बालोन डी’ओर अवार्ड जित्न सफल भएका थिए । सन् २०२३ को बालोन डी’ओर अवार्डमा फ्रान्सका स्ट्राइकर किलियान एमबाप्पे तेस्रो भएका थिए ।

मेस्सीले अब अरू खेलाडीभन्दा तीनवटा बढी बालोन डी’ओर अवार्ड जितेका छन् । उनीपछि समकालीन विश्व फुटबलका अर्का महान् खेलाडी क्रिस्टियानो रोनाल्डोले पाँच पटक बालोन डी’ओर अवार्ड जितेका छन् ।