मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सभामुखद्वारा प्रमुख सचेतकहरूसँग छलफल

सभामुखद्वारा प्रमुख सचेतकहरूसँग छलफल

न्यूजस्टोरी

काठमाडौं । प्रतिनिधिसभा बैठकअघि सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् । बैठक सञ्चालनका लागि सहज वातावरण बनाउन सभामुख घिमिरेले प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका हुन् ।

छलफलमा कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमालेका मुख्य सचेतक महेश वर्तौला, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार सहभागी छन्। सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेर हितराज शाक्यलाई नियुक्त गरेका विषयमा जवाफ माग्दै प्रतिपक्षी दलहरूले संसद्का दुवै सदनको बैठक अवरुद्ध पार्दै आएका छन् ।

त्यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुपर्ने उनीहरूको माग छ । नेताहरूका अनुसार प्रधानमन्त्री ओलीले सोमबार सदनमा जवाफ दिने भएका छन् । सभामुख घिमिरेले प्रधानमन्त्री ओलीले सोमबार सदनमा जवाफ दिने गरी आइतबारदेखि सदन खुलाउन प्रमुख सचेतकसँग छलफल गरिरहेका हुन् ।

सरकारले ल्याएका अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने कानुन पारित गर्ने समयसीमाका कारण आइतबारदेखि नै संसद् बैठक सञ्चालनका लागि सरकारलाई दबाब छ । विपक्षी दलहरूले बैठक सञ्चालनमै अवरोध गरेपछि सरकारले अध्यादेशलाई प्रतिस्थापन गर्ने कानुनहरू पारित गर्न सकेको छैन । आइतबार प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैको बैठक बोलाइएको छ ।

प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन)विधेयक, २०७९ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यस्तै, बैठकमा ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची छ । बैठकमा पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘जलस्रोत विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्नेछन्। यसैगरी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०८१’ प्रस्तुत गर्नेछन् । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१’लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पेस गर्नेछन् । आइतबारै ११ः१५ बजेका लागि राष्ट्रियसभाको बैठक बोलाइएको छ । राष्ट्रिय सभाको कार्यसूची भने सार्वजनिक भएको छैन ।