मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ससुराली हिंडेका शिवशंकरको अपहरणपछि हत्या, जङ्गलमा भेटियो शव

ससुराली हिंडेका शिवशंकरको अपहरणपछि हत्या, जङ्गलमा भेटियो शव

न्यूजस्टोरी

धनुषा । ससुराली हिंडेका एक युवकको अपहरणपछि विभत्स हत्या भएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–८ दिगम्बरपुरका २५ वर्षीय शिवशंकर महतोको हत्या भएको हो ।

उनको शव गौशाला नगरपालिका–८ सागरनाथ वनमा रेल्वे ट्रयाकको करिब एक सय मिटर दक्षिणतर्फ भेटिएको छ । शव शुक्रबार साँझ फेला परे पनि उनको सनाखत भने शनिबार मात्र भएको थियो । शव र घटनास्थलको प्रकृति हेर्दा हत्या भएको महोत्तरी प्रहरीको प्रारम्भिक अनुमान छ ।

हत्या भएको प्रारम्भिक अनुमान गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । शिवशंकरको शव नग्न अवस्थामा, खुकुरीले शरीरको विभिन्न भागमा आक्रमण गरेको र मुखमा आगो लगाएको जस्तो देखिन्छ । शिवशंकर बिहीबार दिउँसो श्रीमती सिर्जना, १० महिने छोरासहित घरबाट ससुराली बर्दिबास नगरपालिका ५ पशुपतिनगर बन्द्रका लागि निस्केका थिए । मृतकका भाइ राम महतोका अनुसार घरबाट एउटा मोटरसाइकलमा दाइ शिवशंकर, भाउजु र १० महिने छोरासहित महेन्द्रनगरसम्म पुगेका थिए ।

त्यहाँबाट श्रीमती सिर्जनाले माइतबाट दुई वटा मोटरसाइकल बोलाएकी थिइन् । एउटामा १० महिने छोरासहित सिर्जना चढेकी थिइन् भने अर्कोमा शिवशंकर । शिवशंकरको घरमा सबैले ससुराली पुगे भनेर ढुक्क थिए । तर, शुक्रबार जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट मान्छे पहिचानका लागि शिवशंकरको घरबाट मान्छे बेलाउँदा त्यहाँ पुगेपछि मात्र छोरा ससुराली नपुग्दै हत्या भइसकेको परिवारले थाहा पाएका थिए ।

‘हिजो दिउँसो २ बजेतिर मात्र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट फोन गरेर आउन भन्यो । पुगेपछि दाइको शव देखायो। त्यसपछि मात्र थाहा पायौं ससुराली नपुग्दै दाइको हत्या भइसकेको रहेछ,’ मृतकका भाइ राम महतोले भने । केही दिनअघि ससुरालीमा विवाद हुँदा शिवशंकरमाथि कुटपिट भएको बताइएको छ । विवादपछि श्रीमती र बच्चासहित घर फर्किंदा शिवशंकर पुनः ससुराली जान मानेका थिएनन् । उनलाई श्रीमती सिर्जनाले नाना (हजुरबुबा) को मृत्यु भयो भनेर ससुराली जान बाध्य बनाएकी भाइ रामको भनाइ छ ।