मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रियसभाबाट महिनावारी विभेद अन्त्यसम्बन्धी संकल्प प्रस्ताव सर्वसम्मतिले पारित

राष्ट्रियसभाबाट महिनावारी विभेद अन्त्यसम्बन्धी संकल्प प्रस्ताव सर्वसम्मतिले पारित

न्यूजस्टोरी

काठमाडौं । राष्ट्रिय सभाबाट मर्यादित महिनावारीका लागि महिनावारी विभेदको अन्त्यसम्बन्धी संकल्प प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । नेकपा (एकीकृत समाजवादी) की सांसद मदनकुमारी साहले प्रस्तुत गरेको ‘मर्यादित महिनावारीका लागि महिनावारी विभेदको अन्त्य सम्बन्धी’ संकल्प प्रस्ताव शुक्रबारको बैठकले पारित गरेको हो ।

राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले संकल्प प्रस्तावमा उल्लेख भएका विषयहरु कार्यान्वयनका लागि सरकारलाई निर्देशन दिँदै अनुगमन गर्न भनेका छन् । प्रस्तावको समर्थकमा सांसदहरू सुमित्रा विसी, गङ्गा बेल्वासे, विष्णुकुमारी सापकोटा, पूजा चौधरी, र डा. अञ्जान शाक्य थिए । प्रस्ताव पेस गर्दै सांसद साहले महिनावारी प्राकृतिक प्रक्रिया भएको उल्लेख गर्दै मुलुकको ९५ प्रतिशत परिवारमा अझै पनि महिनावारीको बेला महिलाहरू विभेदमा पर्ने गरेकाले अन्य गर्नु आवश्यक रहेको बताइन् ।

छलफलका क्रममा सांसदहरुले विभेदका कारण बालिकाहरूमा गम्भीर असर पर्ने बताउँदै यो मानव अधिकार उल्लङ्घन भएको दाबी गरेका थिए । छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री नवलकिशोर साहले प्राकृतिकरुपमा हुने मासिक धर्मलाई अशुद्ध तथा अपहेलित गर्दै सामाजिकरण गरिएको बताए । उनले कर्णाली प्रदेशका विभिन्न ८ जिल्लामा कायम रहेको छाउपडी प्रथाका कारण विभेद कायम रहेको चर्चा गर्दै यसले महिलाको सामाजिक र आर्थिक कुरामा नाकारात्मक असर गरेको दाबी गरे ।

छाउपडी प्रथा उन्मुलनका लागि मन्त्रालय अहिले पनि सक्रिय रहेको जानकारी गराउँदै छाउपडीका कारण बालिकाको शैक्षिकस्तरमा पनि नकारात्मक असर गरेको बताए । घरबाट टाढा बस्नु पर्दा असुरक्षित हुने गरेको बताउँदै मन्त्री साहले यौनजन्य हिंसा र बलात्कारका घटना कायम रहेको उल्लेख गरे । प्रहरीको समन्वयमा छौपडी अन्त्यका लागि प्रयास जारी राखेको उनको भनाइ थियो ।