मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

३६ वर्षपछि सिंगापुरसँग आज मैत्रीपूर्ण फुटबलमा प्रतिस्पर्धा गर्दै नेपाल

३६ वर्षपछि सिंगापुरसँग आज मैत्रीपूर्ण फुटबलमा प्रतिस्पर्धा गर्दै नेपाल

न्यूजस्टोरी

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले आज सिंगापुरसँग उसकै मैदानमा प्रतिस्पर्धा गर्दै छ। एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपालले ३६ वर्षपछि सिंगापुरसँग खेल्न लागेको हो। सिंगापुर नेसनल स्टेडियममा साँझ ६:१५ मा सुरु हुने खेलमा नेपाल आफ्नो नवनयुक्त प्रशिक्षक म्याट रसको प्रशिक्षणमा मैदान उत्रिने छ।

नेपालले १९८९ मा विश्वकप छनोट अन्तर्गत दुई खेल खेलेको थियो। पहिलो खेल अर्थात २७ मे १९८९ मा भएको फिफा विश्वकप छनोटमा नेपाल ३-० ले पराजित भएको थियो भने पछिल्लो पटक अर्थात ५ जुन १९८९ मा भएको विश्वकप छनोटकै दोस्रो खेलमा नेपाल ७-० ले पराजित भएको थियो। त्यसयताका ३६ वर्षमा एकअर्का विरुद्ध भिड्न नपाएका यी दुई टिम आज मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्न लागेका हुन्।

त्यसअघि नेपालले पहिलो पटक किंग्स कपमा ५ मे १९८२ मा प्रतिस्पर्धा गरेको थियो। जुन खेलमा नेपाल २-० ले हारेको थियो। त्यसको अर्थ अहिले सम्म भएका कुल ३ भिडन्तमा नेपाल गोलविहीन रहँदै पराजित भएको छ। नेपालले कुल १२ गोल खाँदा सिंगापुरको पोस्टमा गोल गर्न सकेको छैन्।

फिफा वरियतामा नेपाल भन्दा १५ स्थानमाथि अर्थात १ सय ६० औं स्थानमा रहेको सिंगापुरविरुद्ध नेपाल ऐतिहासिक जित निकाल्ने लक्ष्यमा रहेको छ। आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेलमा प्रशिक्षक म्याट रसले उत्कृष्ट खेल पस्किने विश्वास लिएका छन्।

उनले भने, ‘म खेलाडीले राम्रो प्रदर्शन गर्ने विश्वासमा छु। सबै खेलाडी फिट छन्। उत्कृष्ट प्रतिद्वन्द्वीविरुद्ध बलियो भएर खेल्न सक्नेमा हामी उत्साही छौं।’

सिंगापुले २०२४ मा फिफा विश्वकप छनोटका चार, दुई मैत्रीपूर्ण खेल र आसियन च्याम्पियनसिप गरेर कुल १२ खेल खेल्दा आठ खेलमा हार बेहोरेको थियो भने दुई बराबरीमा र दुई खेलमा जित निकालेको थियो।

त्यसोत नेपालको पनि अवस्था दयनियनै छ। यहि दौरानमा नेपालले आठ अन्तर्राष्ट्रिय खेल खेल्यो चार विश्वकप छनोट, दुई मैत्रीपूर्ण र दुई अनौपचारिक मैत्रीपूर्ण खेल खेलेको नेपाल कुनपनि खेलमा गतिलो प्रदर्शन गर्न असफल रह्यो।

यीमध्ये नेपालले जित निकालेको भनेको गत नोभेम्बरमा भएको अफगानिस्तानविरुद्धको खेलमा मात्रै हो। उक्त खेलमा नेपाल २-० ले विजयी भएको थियो। यस्तै, विश्वकप छनोटमा नेपालले यमनलाई २-२ को बराबरीमा रोकेको थियो। त्योनै विश्वकप छनोटमा नेपालले प्राप्त गरेको अङ्क हो।

तर छोटो तयारीमा विदेशी भुमिमा खेल्न लागेको नेपालका लागि सिंगापुरविरुद्धको खेल कम्ती चुनौतीपूर्ण भने हुने छैन्। किनकी प्रिशक्षक रोसले खेलाडीको बारेमा बुझ्न अझै पर्याप्त समय पाएका छैनन्। २ हप्ताको तयारीमै नेपाल सिंगापुरसँग भिड्न लागेको हो।

सिंगापुरसँग खेलेपछि नेपालले एएफसी एसियन कप छनोटको तेस्रो राउन्डको प्रतिस्पर्धा गर्ने छ। जहाँ नेपालले मलेसिया, लाओस, भियतनामसँग होम एन्ड अवेका आधारमा ६ खेल खेल्ने छ। जहाँ नेपालले मलेसियासँगको होम खेल उसकै मैदानमा खेल्दै छ।

कप्तान किरण चेम्जोङ दुई साता प्रशिक्षण भएपनि सिंगापुरसँग खेल्नका लागि उत्साही रहेको बताउँछन्। उनी भन्छन्, ‘दुई साताको प्रशिक्षण भएपनि हामी शतप्रतिशत दिएर खेल्ने छौं। सिंगापुर विरुद्ध खेल्नका लागि टोली उत्साही छ।’

लामो समय लिगविहीन रहेको नेपालका अधिकांस खेलाडी मोफसलको गोल्डकपले मात्र फुटबलमा धानिएका छन्। २३ मध्ये २० खेलाडी मोफसलका प्रतियोगिता खेलेर आफूलाई अभ्यस्त गराएका छन्। कप्तान किरण आफैं क्लबविहीन भएको केही लामो समय भएकाले उनलाई पनि यो आफ्नो फिटनेस र क्षमता जाँच्ने अवसरका रुपमा रहने छ।

समग्रमा मलेसियासँगको प्रतिस्पर्धा अघि नेपालले सिंगापुरमा आफ्नो परिक्षण गर्ने छ। यो परिक्षणले नेपालको वास्तविक फुटबलको अवस्था कुन स्तरमा पुगेको छ केही हदसम्म संकेत गर्ने छ।