काठमाडौं । ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउँदा हुने स्वागत र्यालीमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन सहभागी नहुने भएका छन्। पार्टीले यसको जिम्मा प्रमुख सचेतक ज्ञानेन्द्र शाही र प्रवक्ता मोहन श्रेष्ठलाई दिएको छ। शाहीले अध्यक्ष स्वागत र्यालीमा सहभागी नहुने बताए। ‘अध्यक्षज्यु आज सहभागी हुनुहुन्न। उहाँले मलाई र प्रवक्ता ज्यूलाई स्वागत कार्यक्रम अगाडि बढाउने जिम्मा दिनुभएको छ,’ शाहीले भने।
प्रवक्ता श्रेष्ठले पनि अध्यक्षको उपस्थितिबारे अहिलेसम्म जानकारी नभएको बताए। ‘अध्यक्षज्युले केही भन्नु भएको छैन,’ उनले भने। राजावादी समर्थकहरु गौशाला र तीनकुने क्षेत्रमा भेला भएर पूर्वराजा शाहलाई स्वागत गर्न सिनामंगलस्थित विमानस्थलको मुख्य गेटतर्फ अगाडि बढ्ने छन्। त्यहाँबाट शाहसँगै र्याली निर्मल निवाससम्म पुग्नेछ।
पूर्वराजा ज्ञानेन्द्र शाह एक साता लामो पोखरा बसाइँपछि आज दिउँसो काठमाडौं फर्किंदैछन्। राजाको प्रिय बन्ने प्रतिस्पर्धामा रहेका राप्रपा, राप्रपा नेपालसहितका राजनीतिक दल र संघसंस्थाहरुले उनको स्वागतमा काठमाडौंका विभिन्न स्थानबाट र्यालीसहित प्रदर्शनको तयारी गरेका छन्। त्यसैले भिड अनियन्त्रित हुन नदिन र अवाञ्छित क्रियाकलाप रोक्न काठमाडौंको सुरक्षा प्रबन्ध चुस्त बनाइएको छ। साथै सुरक्षाकर्मीहरुलाई हाई अलर्टमा राखिएको छ।


प्रतिक्रिया