सिरिया । सिरियाली सेना र पूर्व राष्ट्रपति बसर अल-असदका लडाकुहरूबीच लताकिया र टार्टसको तटीय क्षेत्रहरूमा भीषण द्वन्द्व सुरु भएको छ। दुई दिनमा भएको द्वन्द्वमा १८० भन्दा बढीको मृत्यु भइसकेको जनाइएको छ। साथै ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन्।
द्वन्द्वग्रस्त क्षेत्र रुसी नियन्त्रित एयरबेसको नजिक छ। स्रोतका अनुसार सुरक्षाबलले एक व्यक्तिलाई पक्राउ गर्न खोज्दा झडप सुरु भएको थियो। यसपछि सरकारले लताकिया र टार्टसमा ठूलो संख्यामा सेना तैनाथ गरेको छ। साथै, कर्फ्यू लगाउने आदेश पनि दिइएको छ।
सिरियाली सरकारले असदप्रति वफादार लडाकुहरूले सुरक्षा बलमाथि आक्रमण गरेपछि हिंसा भड्किएको जनाएको छ। यसैबीच असदका लडाकुहरूले सुरक्षा बलमाथि आवासीय क्षेत्रहरूमा बमबारी गरेको आरोप लगाएका छन्। लताकिया र टार्टस प्रान्तमा भएको हिंसाले अबु मोहम्मद अल-जुलानीको नेतृत्वमा रहेको सरकारलाई चुनौती दिएको छ। यी क्षेत्र अल्वी समुदायको गढ हुन्।
उनीहरु पूर्व राष्ट्रपति बसर अल-असदप्रति वफादार रहेका छन्। गत वर्ष डिसेम्बरमा बसर अल-असदलाई सत्ताबाट हटाइएपछि सिरियामा भएको यो सबैभन्दा गम्भीर हिंसात्मक झडप हो।


प्रतिक्रिया