मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युक्रेनमाथि बढ्दो रुसी हमला, रातभरको आक्रमणमा ८ जनाको मृत्यु

युक्रेनमाथि बढ्दो रुसी हमला, रातभरको आक्रमणमा ८ जनाको मृत्यु

न्यूजस्टोरी

काठमाडौं । बुधबार राति रुसले युक्रेनका विभिन्न शहरमा भीषण आक्रमण गरेको छ । आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु भएको युक्रेनले दाबी गरेको छ ।
रुसी क्षेप्यास्त्र तथा ड्रोन आक्रमणका कारण क्रिभी रिह, ओडेसा, दोनेत्स्क, सुमी, खार्किभ र खेरसोन लगायतका क्षेत्रमा ठूलो क्षति पुगेको छ । युक्रेनको क्रिभी रिह शहरमा रहेको एक होटलमा रुसी क्षेप्यास्त्र प्रहार हुँदा ४ जनाको मृत्यु भएको छ । यो शहर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको जन्मस्थान हो ।

राष्ट्रपति जेलेन्स्कीले पत्रकारसँग कुरा गर्दै उक्त होटेलमा अमेरिकी र बेलायती स्वयंसेवक रहेको र उनीहरू भने बाँच्न सफल भएको बताएका छन् ।‘बेलायती र अमेरिकी स्वयंसेवकहरू केही समयअघि मात्र होटेलमा चेक इन गरेका थिए, त्यसपछि रुसले क्षेप्यास्त्र आक्रमण गर्‍यो । अन्य चार जनाको मृत्यु भएपनि हामीले स्वयंसेवकहरूलाई बचाउन सक्यौं, जेलेन्स्कीले भने ।

त्यस्तै, युक्रेनको दक्षिणी तटीय शहर ओडेसामा पनि रुसी सेनाले इन्जिनियरिङ पूर्वाधारमा ठूलो आक्रमण गरेको छ । ओडेसाका गभर्नरका अनुसार हमलामा कम्तीमा २ जना घाइते भएका छन् । अन्य क्षेत्रमा पनि रुसी आक्रमणका कारण ठूलो क्षति पुगेको छ । दोनेत्स्क क्षेत्रमा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

उत्तरपूर्वी सुमी शहरमा रुसी क्षेप्यास्त्र आक्रमणमा १ नागरिकको मृत्यु भएको छ । खार्किभमा गोलाबारीका कारण एउटा घर र गाडीमा आगलागी हुँदा १ पुरुषको मृत्यु भएको छ । खेरसोनमा पछिल्लो २४ घण्टामा भएको आक्रमणमा १ जनाको ज्यान गएको छ । युक्रेनी वायु सेनाका अनुसार रुसले पछिल्लो रात ११२ वटा ड्रोन आक्रमण गरेको थियो, जसमा ६८ वटा ड्रोन युक्रेनले खसाल्न सफल भएको दाबी गरिएको छ ।

रुस र युक्रेनबीच शान्ति वार्ताका लागि विश्वभरबाट पहल भइरहेका बेला रुसले युक्रेनमाथिको आक्रमण थप तीव्र पारेको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिनअघि युक्रेनलाई दिइएको सैन्य सहायता रोक्ने घोषणा गरेका थिए ।