मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुधबारको संसद बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई कांग्रेस-एमालेको ह्विप

बुधबारको संसद बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई कांग्रेस-एमालेको ह्विप

न्यूजस्टोरी

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले बुधबार बस्ने संसद बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ ।

बुधबारको बैठकमा सरकारले ल्याएका अध्यादेशहरू स्वीकृतिका लागि प्रस्तुत हुने भएकाले दुवै दलका प्रमुख सचेतकहरू श्याम घिमिरे र महेश बर्तौलाले ह्विप जारी गरेका हुन् ।

सरकारले ल्याएको ६ वटा अध्यादेशलाई हिउँदे अधिवेशनको पहिलो बैठकमै मन्त्रीहरुले पेश गरेपनि एक महिना पूरा हुनैलाग्दा समेत पारित हुन सकेको छैन । प्रतिनिधिसभामा सरकारसँग पर्याप्त बहुमत भएपनि राष्ट्रिय सभामा बहुमतको सकसले गर्दा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई मनाउनमै करिव एक महिना लगाउँदा पनि जसपाले नमानेपछि अध्यादेश पारित गर्न सरकारमाथि झन दबाब बढ्दै गएको हो । यसका लागि भोलिको बैठकमा अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ, त्यसलाई मध्यनजर गर्दै संसदकै दुई ठूला दल कांग्रेस–एमालेले ह्विप जारी गरेका हुन् ।

माघ १८ गते बसेको हिउँदे अधिवेशनको पहिलो बैठकमै ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, २०८१’, ‘निजीकरण पहिलो संशोधन अध्यादेश, २०८१’, ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ सरकारले पेश गरेका थियो ।