मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिमा प्राधिकरणका निवर्तमान अध्यक्ष सिलवाललाई भ्रष्टाचार मुद्दामा सफाइ

बिमा प्राधिकरणका निवर्तमान अध्यक्ष सिलवाललाई भ्रष्टाचार मुद्दामा सफाइ

न्यूजस्टोरी

काठमाडौं । पूर्व गृहसचिव तथा नेपाल बिमा प्राधिकरणका निवर्तमान अध्यक्ष सूर्यप्रसाद सिलवालले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । नपाएको ओहोदा पाएको तथा पदमा रहन जन्ममिति कीर्ते गरेको अभियोगमा उनीविरुद्ध गत मंसिरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।

तीन महिना पनि नपुग्दै उनले मुद्दाबाट सफाइ पाएका हुन् । अख्तियारले १५ साउन ०८० पछि उनले लिएको पारिश्रमिकबापतको ३६ लाख ६२ हजार रुपैयाँलाई भ्रष्टाचारको बिगो मानी गत २४ मंसिरमा मुद्दा दायर गरेको थियो ।
आइतबार विशेष अदालतका न्यायाधीशहरू तेजनारायणसिंह राई, रामबहादुर थापा तथा मुरारीबाबु श्रेष्ठको इजलासले सफाइ दिने फैसला गरेको हो ।

पदमा रहनकै लागि उनले जन्ममिति सच्याएको आयोगको अभियोग थियो । उनले २४ फागुन ०३२ मा नागरिकताको प्रमाणपत्र लिएका थिए । पछि जिल्ला प्रशासन कार्यालयबाट ०६६ सालमा प्रतिलिपि लिँदा २२ कात्तिक ०१६ साल भनी जन्ममिति उल्लेख गरेका थिए । तर, निजामती सेवा प्रवेश गर्दा नै उनले १५ साउन ०१५ भनी जन्ममिति घोषणा गरेका थिए । सिटरोलका साथै त्रिभुवन विश्वविद्यालयको प्रमाणपत्रमा समेत त्यही जन्ममिति उल्लेख थियो । त्यही विवरणलाई आधार मानेर उनले १५ साउन ०७३ मा अवकाश लिएका थिए ।

पछि उनी बिमा समितिको अध्यक्षमा नियुक्त भए । त्यतिवेला सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, ०७३ अनुसार राजनीतिक नियुक्ति र मनोनयनमा सार्वजनिक पदमा पुगेको व्यक्ति ६५ वर्ष पूरा भएका व्यक्ति अवकाश हुनुपर्ने व्यवस्था थियो । तर, १५ साउन ०८० मा अवकाश पाउनुपर्ने सिलवालले पछि भने आफ्नो जन्ममितिबारे फरक दाबी गरेका थिए । २४ कात्तिक ०१८ मा आफ्नो जन्ममिति रहेको दाबी गर्दै उनले ६५ वर्षपछि समेत पदमा बहाल रहेको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो ।