काठमाडौं, १६ फागुन । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्गको लुकुम–पातीहाल्ना सडक खण्ड अवरुद्ध भएको छ ।
रुकुम पूर्व र बाग्लुङको सीमा क्षेत्रअन्तर्गत पर्ने सडक खण्डमा बाक्लो हिउँ जमेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार सडकमा हिउँ परेसँगै गाडी ओहोरदोहोर गर्न सकेका छैनन् ।
यस्तै पहिरो खसेर महाकाली लोकमार्ग अवरुद्ध भएको छ । दार्चुलाको महाकाली नगरपालिका–५ किम्तडीमा पहिरो खस्दा बिहानदेखि यातायात सेवा ठप्प भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिनुभयो ।
सडक अवरुद्ध हुँदा तराईबाट छुटेका तथा जिल्लाबाट बाहिरिने गाडी बाटोमै रोकिएका छन् । यात्रु बाटोमै अलपत्र परेका महाकाली काउन्टर दार्चुलाका लवराज अवस्थीले जानकारी दिनुभयो । सडक खुलाउन पहल भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया