काठमाडौं, १६ फागुन । मौसम प्रतिकूल हुँदा हवाई उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मौसमको खराबीले परराष्ट्रमन्त्री आरजु राणा देउवा चढेको दोहाबाट आएको कतार एअरवेजको जहाज बिहान कोलकाता डाइभर्ट भएको छ ।
त्यस्तै मलेसियाको क्वालालम्पुरबाट आएको नेपाल एअरलाइन्सको जहाज दिल्ली डाइभर्ट भएको छ । यसैगरी चीनको तियान्फुबाट आएको सिचुआन एयरलाइन्सको जहाज तिब्बतको ल्हासा डाइभर्ट भएको विमानस्थल कार्यालयले जनाएको छ ।
भिजीबिलिटी कमजोर हुँदा केही आन्तरिक हवाई उडान पनि प्रभावित भएका छन् । काठमाण्डौमा आकाश धुम्मिएको छ भने तराई-मधेशका केही ठाउँमा हुस्सु छ ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशका विभिन्न ठाउँमा हल्का वर्षा र उच्च क्षेत्रमा हिमपात भएको छ । काठमाण्डौ उपत्यकामा बिहान हल्का वर्षा भयो । मौसम दिउँसोसम्म पनि खुल्न सकेको छैन ।
आज देशका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


प्रतिक्रिया