विराटनगर। विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आबद्ध विद्यार्थीबीच झडप भएको छ।
पार्टी सभापति शेरबहादुर देउवा र संस्थापनइतर डा. शेखर कोइराला पक्षधर विद्यार्थीबीच बिहीबार झडप भएको हो। झडपमा ३ जना घाइते भएका छन्।
घाइते हुनेमा नेविसंघ मोरङका जिल्ला सभापति सरोज पोखरेल, सचिव गुड्डु साह र महेन्द्र मोरङमै अध्ययनरत नेविसंघ केन्द्रीय सदस्य पूजा विश्वास छन्। तीनै जना इतर पक्षका हुन्।
साह र विश्वासको अवस्था सामान्य छ। पोखरेललाई भने थप उपचारका लागि नोबेल शिक्षण अस्पतालमा लगिएको छ। उक्त क्याम्पसको स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) का सभापति जसवन्त पौडेल सहितको समूहले आक्रमण गरेको अर्को पक्षले जनाएको छ।
स्ववियुको चुनाव लागेकाले क्याम्पसको अवस्था बुझ्न जिल्ला सभापति र सचिव गएका बेला आक्रमण भएको उनको भनाइ छ। स्ववियु सभापतिको नेतृत्वमा रहेका करिब ५०–६० जनाले आक्रमण गरेको उनले बताइन्।
विश्वासका अनुसार नेविसंघका जिल्ला सभापति र सचिव पुगेर क्याम्पसको अवस्था बुझ्दै गर्दा आक्रमण सुरु भएको थियो। केही समस्या भएमा छलफलबाट समाधान गरौं भन्दा वास्तै नगरी एक्कासि आक्रमण भएको उनले बताइन्।
सुरुमा मुक्काले प्रहार गरिएको र पछि बच्चरोसमेत ल्याएर आक्रमण गरिएको दाबी उनको छ। स्ववियु सभापति पौडेलले भने बिना जानकारी क्याम्पसमा नेविसंघको नयाँ इकाई गठन गर्न खोजिएपछि विवाद भएको बताए।
झडप भएको जानकारी पाएपछि प्रहरी पुगेको थियो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी मदन केसीले नेविसंघका विद्यार्थीबीच सामान्य हात हालाहाल भएको बताए।


प्रतिक्रिया