काठमाडौं । बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको मृत्यु भएको छ । सोमबार कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
धादिङको धुनीबेसी नगरपालिका-९ घर भएका ३६ वर्षीय थापाले सोमबार कलंकीस्थित साथीको कोठामा विषादी सेवन गरेका थिए । साथीको कोठामा विषादी सेवन गरि अचेत भेटिएका थापालाई उपचारका लागि सहिद मेमोरियल अस्पताल लगिएको थियो ।
उनको उपचारको क्रममा अस्पतालमै मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले बताए । थापाको साथबाट एक पेजको पत्रसमेत बरामद भएको उनले बताए ।
पत्रमा थापाले सहकारीको पैसा लेनदेनको विषयमा आफूलाई जोडिएको र त्यसले आफ्नो बेइज्जत भएको उल्लेख गरेका छन् । आईतबार सुमेरु सहकारीका पूर्वसचिव विनोद आचार्यसँग सो सहकारीको समस्या मिलाउने विषयमा थापासँग कुराकानी भएको भनिएको अडियो क्लिप सार्वजनिक भएको थियो । मन्त्रालयले गत पुस २८ मा उक्त सहकारीलाई समस्याग्रस्त सहकारी घोषणा गरेको थियो । सो अडियो क्लिप परीक्षणको क्रममा रहेको र सो पश्चात् थप प्रक्रिया अघि बढाईने एसपी बोहराले बताए ।
थापाको शव टिचिङ अस्पतालमा राखिएको छ । घटनाबारे प्रहरी वृत्त कालिमाटीले अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया