गुल्मी । गुल्मीमा डोजरले खसालेको ढुङ्गाले लागेर विद्यालय जाँदै गरेकी एक बालिकाको मृत्यु भएको छ । इश्मा गाउँपालिका–२ टारगाउँमा जेसीबीले बाटो खन्ने क्रममा खसालेको ढुङ्गाले लागेर ८ वर्षकी विष्णु कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चिरञ्जिवी दाहालले जानकारी दिए ।
जेसीबीले छल्दीबाट हस्तीचौर जाने कच्ची सडक खनिरहेको थियो । बनिरहेको बाटोको तलपट्टिबाट विद्यालय जाँदै गरेकी बालिका ढुङ्गाले लागेर घाइते भएकी थिइन् । उपचारका लागि गुल्मी अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
स्थानीयले भने जेसीभी चालकको लापरबाहीले बालिकाको मृत्यु भएको आरोप लगाएका छन्। जेसीभी चालक मकवानपुरका राजेश रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनास्थलमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजकुमार थापा नेतृत्वको टोली घटनास्थलमा गएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया