काठमाडौं । ‘इण्डिया इनर्जी वीक–२०२५’ मा भाग लिएर बिहीबार साँझ स्वदेश फर्किएका ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले भारत भ्रमणका क्रममा टनकपुर बाँधमा चाँडै पानी छोड्ने विषयमा सहमति भएको बताएका छन् । उनले सिँचाइतर्फ पञ्चेश्वर परियोजनालाई अगाडि बढाउनेबारे अन्तिम टुंगो लगाउने छलफल पनि भएको जानकारी दिए ।
उनले कोशीको विषयमा पनि केही छलफल भएको बताए । दुई देशबीचको सिँचाइ व्यवस्थापनको बैठक हुन नसकेको अवस्थालाई चिर्दै यही २२–२४ फेब्रुअरीमा छलफल गर्ने सहमति भएको बताए । दुई देशबीच संयुक्त लगानीमा बनेका ट्रान्समिसन लाइनको विषयमा ५०-५० प्रतिशत हुँदा निर्णयार्थ गर्नुपर्ने विषयमा द्विविधा हुने भएको अवस्थालाई मध्यनजर गरेर नेपालतर्फ नेपालको ५१ प्रतिशत र भारतको ४९ प्रतिशत र भारततर्फ भारतको ५१ र नेपालको ४९ प्रतिशत सहमति भएको बताए ।
बंगलादेशतर्फ पनि ट्रान्समिसन लाइन बनाउने कुराको छलफल अघि बढेको मन्त्री खड्काको दाबी छ । अबका वर्षहरूमा कार्बन शून्य उत्सर्जनको लक्ष्य लिएको र सोहीअनुसार कार्बन व्यापारको रकम प्राप्त गर्ने बताए । मन्त्री खड्काले भने, ‘सिँचाइतर्फ हाम्रा ठूला आयोजनाहरू पञ्चेश्वरलाई अगाडि बढाउने छलफल भयो र एक हिसाबको सहमति अगाडि बढेको छ । अब चाँडै सम्माननीय प्रधानमन्त्रीहरूको बैठकमा अन्तिम टुंगो लाग्ने हिसाबले हाम्रो छलफल भएको छ । कोशीको विषयमा पनि केही छलफल भएका छन् । टनकपुरमा छोड्नुपर्ने अहिलेसम्म सहमति भएको, वर्षौंअघि नै निर्माण भइसकेको तर पानी नछोडिएको अवस्थालाई चाँडै नै पानी छोड्ने सहमति भएको छ । दुई देशबीचमा सिँचाइतर्फ पनि बैठक हुन नसकेको लामो समय भयो । अब आउने २२–२४ तारिकमा नै मिटिङ हुनेगरीको एक खालको सहमति भएर दुवै देशका मन्त्रीका बीचमा सफलतापूर्वक बैठक सम्पन्न भएको छ ।’


प्रतिक्रिया