मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एसईई दिने विद्यार्थीका लागि आजबाट ५० लाख प्रश्नपत्र छापिदै

एसईई दिने विद्यार्थीका लागि आजबाट ५० लाख प्रश्नपत्र छापिदै

न्यूजस्टोरी

काठमाडौँ । सरकाले यस वर्षको एसईई परीक्षाको प्रश्नपत्रको छपाइ आज बिहीबारबाट शुरू गरेको छ । करिब ५ लाख विद्यार्थीका लागि प्रश्नपत्र छपाइ गर्न लागिएको हो ।
गत वर्ष ५ लाख १६ हजार विद्यार्थी थिए, यो वर्ष गत वर्षभन्दा करिब १६ हजार कम अर्थात् करिब ५ लाख विद्यार्थीका लागि प्रश्नपत्र छपाइ गर्ने तयारी छ । प्रश्नपत्र छपाइ गर्न राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक नन्दलाल पौडेल सहितको टोली हिजो बुधबार सानोठिमीस्थित जनकशिक्षा सामग्री केन्द्र लिमिटेडको सुरक्षण मुद्रणालयमा पुगेको थियो । टोलीले करिब ३ हप्तामा प्रश्नपत्र छपाइ र ढुवानी गरी फर्किने कार्यक्रम छ । यो वर्ष करिब ५० लाख थान प्रश्नपत्र छापिँदै छ ।
७२ जना सुरक्षाकर्मीको तीन तहको सुरक्षा घेराभित्र प्रश्नपत्र छपाइ हुनेछ । त्यसमा २७ जना नेपाली सेना, १५ जना नेपाल प्रहरीको र ३० जना सशस्त्र प्रहरी बलको टोली परिचालन भएको छ । सुरक्षाको कमान्ड नेपाली सेनाका सेनानीले गरेका छन् । भित्री घेरामा नेपाली सेना, त्यसपछि सशस्त्र र सबैभन्दा बाहिरी घेरामा नेपाल प्रहरीको टोली परिचालित छन् ।

केन्द्रका करिब ५० जना कर्मचारीले प्रश्नपत्र छाप्नेछन् । सुरक्षा व्यवस्था शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आग्रहमा गृह मन्त्रालयले गरेको छ । प्रश्नपत्र छाप्न केन्द्रको सुरक्षण मुद्रणालयमा प्रवेश गरेको टोली प्रश्नपत्र छपाइ र ढुवानी नभएसम्म मुद्रणालयमै बस्ने व्यवस्था मिलाएको छ । केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले प्रश्नपत्र छपाइ गर्न सबै तयारी पूरा भएर परीक्षा नियन्त्रक सहित सबै सुरक्षा निकायका अधिकारी गोप्य रूपमा मुद्रणालयमा बसिसकेको बताए ।

केन्द्रले कागज, मसी, मेसिन, औजार, उपकरण, छपाइ तथा प्याकिङ खामलगायत सबै सामान केन्द्रले व्यवस्था गर्नेछ । पनिकाले सातवटै प्रदेशमा फरक फरक सेटमा प्रश्नपत्र छपाइ गराउँदै छ । २५ दिनमा सक्ने गरी छपाइ शुरू भएको छ । छापेको प्रश्नपत्र सम्बन्धित केन्द्रमा पु¥याउन करिब १ महिना लाग्नेछ । बोर्डले प्रदेशअनुसार फरकफरक सेटको प्रश्नपत्र छपाइ गर्ने जनाएको छ । बोर्डले फागुन मसान्तभित्र प्रश्नपत्र ढुवानी शुरू गर्नेछ ।

बोर्डले विद्यार्थी संख्याभन्दा करिब १० प्रतिशत बढी प्रश्नपत्र छपाउने छ । हरेक विषयको फरकफरक सेट प्रश्नपत्र छपाइ गर्नेछ । साधारण र प्राविधिक धारतर्फ गरी दुई प्रकारको परीक्षा हुनेछ । परीक्षामा साधारणतर्फ ६ र प्राविधिक धारतर्फ ६ अनिवार्य विषय छन् । बोर्डले प्रायः सबै विषयमा दुई सेट प्रश्नपत्र छाप्ने तयारी गरेको छ ।
ऐच्छिक पहिलोमा २४ र दोस्रोमा २३ विषय समावेश छन् । केन्द्रबाटै सबै जिल्लामा प्रश्नपत्र ढुवानी हुनेछ । शुरूमा दुर्गम त्यसपछि पहाड र अन्तिममा तराई तथा उपत्यकामा प्रश्नपत्र ढुवानी गर्ने तयारी भइरहेको जनाएको छ । यस वर्षको परीक्षा चैत ७ गतेबाट शुरू हुनेछ । तालिकाअनुसार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । यस दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरासातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा हुनेछ ।

दोस्रो दिन चैत ८ गते अनिवार्य नेपाली विषयको परीक्षा हुनेछ । यस दिन गैर नेपाली विद्यार्थीहरूका लागि अंग्रेजी (इलेक्टिभ इङ्गलिस) को परीक्षा हुनेछ । चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुने परीक्षा नियन्त्रण कार्यालयको तालिकामा उल्लेख छ । परीक्षा चैत १९ गतेसम्म सञ्चालन हुनेछ ।

सुरक्षा समितिको बैठकले परीक्षालाई व्यवस्थित, मर्यादित र अनुसासित रूपमा सञ्चालन गर्न जिल्ला परीक्षा समन्वय समितिलाई निर्देशन दिएको छ । गृहमन्त्रालयमार्फत प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा निकायलाई निर्देशन दिने निर्णय गरेको छ ।

समितिले परीक्षामा कुनै समस्या आए राष्ट्रिय परीक्षा बोर्डले समन्वय गर्ने उल्लेख छ ।