मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वविद्यालयले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनमा ध्यान दिनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

विश्वविद्यालयले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनमा ध्यान दिनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

न्यूजस्टोरी

काठमाडौं, १० मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २१ औँ शताब्दीको आवश्यकता परिपूर्ति गर्न वैकल्पिक साधन स्रोतको खोजीका लागि विश्वविद्यालयलाई समुदायस्तरमा विस्तार गर्नु आवश्यक रहेको बताउनुभएको छ । पूर्वाञ्चल विश्वविद्यालय सभाको ३७ औँ सभा बैठकलाई आज आइतवार बालुवाटारमा सम्बोधन गर्दै उहाँले समुदायस्तरमा पहुँच विस्तारका लागि विश्वविद्यालयले अघि सारेको नीति तथा कार्यक्रमको कार्यान्वयनमा देखापरेका बाधा–अड्चन, नीतिगत तथा कानुनी समस्याको समाधान र ऐनको समयाकूल परिमार्जन र संशोधनका लागि सरकारबाट यथोचित सहयोग रहने विश्वास दिलाउनुभयो । विश्वविद्यालयले स्थापनाको झन्डै तीन दशकमा उल्लेख्य उपलब्धि हासिल गर्न सफल भएकोमा प्रधानमन्त्रीले बधाई दिनुभयो । ‘विश्वविद्यालय स्थापनाका लागि योगदान पुर्‍याउने र यसको प्राज्ञिक उन्नयन र विकासमा सहयोग प्रदान गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दछु ।

आउँदा दिनमा उच्च शिक्षाको गुणस्तर कायम गर्दै विश्वविद्यालयको संस्थागत सुधारका लागि समर्पित हुन सबैलाई प्रेरणा र उत्साह प्राप्त हुने विश्वाससमेत व्यक्त गर्दछु’, प्रचण्डले भन्नुभयो । विश्वविद्यालयका उपकुलपतिले प्रस्तुत गर्नुभएको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् रजिस्ट्रारबाट प्रस्तुत बजेटले विश्वविद्यालयको समग्र शैक्षिक–भौतिक प्रगतिका साथै विकास र विस्तारमा समेत सघाउ पुग्ने प्रधानमन्त्रीको भनाइ छ । विश्वविद्यालयले राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने उच्चस्तरीय जनशक्तिको उत्पादनमा विशेष ध्यान दिनुपर्ने कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री दाहालको भनाइ छ । विश्वविद्यालयले विज्ञान तथा प्रविधि, इन्जिनियरिङ, व्यवस्थापन, चिकित्साशास्त्र, शिक्षाशास्त्र र कानुनका क्षेत्रमा राष्ट्रको आवश्यकता एवम् अन्तर्राष्ट्रियस्तरको दक्ष जनशक्तिको उत्पादनका लागि ध्यान केन्द्रित गरेको जानकारी पाउँदा खुशी लागेको उहाँले उल्लेख गर्नुभयो । देशमा क्रियाशील सबै विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानले बदलिँदो परिवेशअनुरूप अध्ययन, अध्यापन र अनुसन्धानको दायरालाई व्यापक बनाई पृथ्वी र मानव जातिमाथि आइपर्नसक्ने चुनौती र समस्या समाधानका लागि सोच्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभयो ।

उहाँले अलैँची, चिया, रुद्राक्ष, जडीबुटी, जुट, फलफूललगायत नेपालका मौलिक उत्पादनका बारेमा समेत सुक्ष्म शोध अनुसन्धान गरेर त्यस्ता उत्पादनको वृद्धि र प्रशोधनका साथै अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने काममा यस विश्वविद्यालयले गुणात्मक योगदान दिने आफूले विश्वास लिएको प्रधानमन्त्रीको भनाइ छ । कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, विश्वविद्यालयका पदाधिकारीको उपस्थिति थियो ।