काठमाडौं । सत्तारुढ नेकपा एमालेका सांसद गोकुल बास्कोटाले चार वटा प्रधानमन्त्री बन्दा पनि धुलिखेलदेखि खावासम्मको चार किलोमिटर बाटो नबनेको भन्दै असन्तुष्टि पोखेका छन् ।
प्रतिनिधि सभाको आज (मंगलबार) को बैठकमा सडक नबनेको भन्दै उनले भौतिक मन्त्रीको ध्यानाकर्षण गराए । उनले अब पनि सडक नबने ढुंगा खाने स्थिति बनेको समेत जानकारी गराए । प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद बास्कोटाले भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालको कानमा बतास् पसोस् भन्ने जनताको माग आफूले सदनमार्फत सुनाएको बताएका छन् । नत्र अब ढुंगा खान तयार हुनुपर्ने चेतावनी समेत उनले दिए ।
बास्कोटाले भने, ‘खावादेखि धुलिखेलसम्मको ४ किलोमिटर सडक ४ पटक प्रधानमन्त्री र ४ पटक मन्त्री फेरिँदा पनि बनेन । भौतिक मन्त्रीको कानमा बतास पसोस्, त्यहाँका जनताले यहि कुरा भन्न भनेका छन् । नभए ढुंगा खाने स्थिति बन्यो । बास्कोटाले काठमाडौंको तरकारी बजारमा १७ प्रतिशत योगदान गरेको काभ्रेका किसानले ३ रुपैयामा काउली बेच्नु परेको भन्दै पकेट क्षेत्रमा ५ वटा कोल्ड स्टोर स्थापना गर्न कृषि मन्त्रीको ध्यानकर्षण समेत गराए । बनेपा, धुलिखेल, पाँचखाल, मण्डन र बेथानचोकका किसानको समस्या सुनाउँदै ५ ठाउँमा कोल्डस्टोर राखेर किसानको लगानी जोगाउनु पर्ने बताएका छन् ।


प्रतिक्रिया