मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेक्सिको र क्यानडामाथिको थप आयात शुल्क एक महिना स्थगित गर्न ट्रम्प सहमत

मेक्सिको र क्यानडामाथिको थप आयात शुल्क एक महिना स्थगित गर्न ट्रम्प सहमत

न्यूजस्टोरी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प क्यानडा र मेक्सिकोमाथि घोषणा गरेको आयात शुल्कको कार्यान्वयन ३० दिनपछि सार्न सहमत भएका छन् ।

ट्रम्पसँगको टेलिफोन कुराकानीमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आप्रवासन नियन्त्रणका र फेन्टनिल (औषधि) को ओसारपसार रोक्न अमेरिकासँगको सीमामा कडाइ गर्न सहमति जनाएका हुन् । ट्रम्पले आफू प्रारम्भिक परिणामबाट एकदम सन्तुष्ट रहेको प्रतिक्रिया दिएका छन् । त्यसअघि उनले मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनाबाउमसँग पनि यस्तै सहमति गरेका थिए ।

मेक्सिकोकी राष्ट्रपतिले उत्तरी सीमामा थप १० हजार सैनिक खटाउन सहमति जनाएका थिइन् । त्यसको बदलामा मेक्सिकोमा बन्दुकहरूको प्रवाहलाई सीमित गर्ने अमेरिकाले प्रतिबद्धता जनाएको थियो । यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानडा र मेक्सिकोबाट हुने आयातमा २५ प्रतिशत र चीनबाट हुने आयातमा १० प्रतिशत आयात कर लगाउने घोषणा गरेका थिए । उक्त कदमको विरोध गरेका तीनै देशले आफूले पनि त्यस्तै प्रकृतिको आयात शुल्क अमेरिकी उत्पादनमा लगाउने घोषणा गरेपछि विश्व नयाँ व्यापार युद्धमा प्रवेश गर्न लागेको भन्दै टिप्पणीहरू भइरहेका थिए ।

क्यानडाका प्रधानमन्त्री ट्रुडोले आफ्नो सीमा योजनाअन्तर्गत १.३ अर्ब डलर थप हेलिकोप्टर, प्रविधि र जनशक्ति सीमा क्षेत्रमा खटाउन लगानी गर्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल एक्समा उनले जनाएअनुसार उक्त रकमबाट फेन्टनिलको प्रवेश अमेरिकामा रोक्न समेत थप स्रोतहरू परिचालन गरिनेछ । उनले अग्रपङ्क्तिमा १० हजारभन्दा बढीले सीमा रक्षाका लागि काम गरिरहेको भन्दै क्यानडाले सङ्गठित आपराधिक गिरोहहरूलाई आतङ्कवादी घोषणा गर्ने र सातै दिन चौबीसै घण्टा सीमामा नजर राख्ने उल्लेख गरेका छन् ।

आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा ट्रम्पले गैरकानुनी लागुऔषधलाई अमेरिकामा प्रवेश गर्नबाट रोक्न क्यानडा सहमत भएकाले आफूले आयात शुल्क लगाउने निर्णय स्थगित गरेको ट्रम्पले उल्लेख गरेका छन् ।उनले भनेका छन्, ‘क्यानडाले हाम्रो उत्तरी सीमा सुरक्षित रहेको सुनिश्चित गर्न सहमति जनाएको छ ।’