पोखरा । सत्तारुढ नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेताहरूले मञ्चमा सवालजवाफका रूपमा दोहोरी गर्न नहुने बताएका छन् । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना र पार्टी गण्डकी प्रदेशको व्यवस्थापनमा सोमबार पोखरामा प्रदेश सभापति र प्रशिक्षण विभाग प्रमुखलाई आयोजित अभिमुखीकरणमा बोल्दै उपसभापति खड्काले एकताको सन्देश दिनुपर्नेमा जोड दिएका हुन् ।
‘मञ्चमा कांग्रेसका नेताहरूले आपसमा दोहरी बन्द गर्नुपर्यो, कुनै पनि नेतालाई प्रश्न गर्दै मञ्चमा भाषण गर्दै हिँड्न भएन,’ उनले भने, ‘मञ्चमा एकता, केही समस्या छन् भने कोठाभित्र बहस गर्नुपर्छ । म त यसका लागि तयार छु ।’ उनले २०८१, ०८२ र ०८३ का अभियान पार्टीले सञ्चालन गरेमा ०८४ को आम चुनावमा एक्लै बहुमत आउने पनि दावी गरे ।
‘तीन वर्षे अभियान सफल भएपछि स्थानीय, प्रदेश र संघीय चुनावमा एक्लै बहुमत आउँछ,’ उनले भने, ‘बहुमत आउन रोक्यो भने वर्षौंदेखिको अन्तरघात अपराधले रोक्छ ।’ अन्तरघात कांग्रेसको महारोग भएको भन्दै उनले गएको चुनावमा प्रदेशका ४० ठाउँमा र संघका ३० ठाउँमा पार्टी उम्मेदवार हारेको बताए ।


प्रतिक्रिया