काठमाडौं, मंसिर ३ । राष्ट्रपति रामचन्द्र पौडेलले छठीमाताको पूजाअर्चना गर्नुभएको छ । छठपर्वको उपलक्ष्यमा आज आइतवार साँझ उहाँले कमलपोखरीको छठ पूजास्थलमा छठी माताको पूजा गर्नुभएको हो । राष्ट्रपति पौडेलले गुह्येश्वरीमा निर्मित पूजास्थलमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठी माताको पूजाअर्चना गर्नुभयो ।
काठमाण्डौ उपत्यकाका कमलपोखरी, गुह्येश्वरी गौरीघाट, कुपण्डोललगायत ठाउँमा छठ पूजास्थल निर्माण गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठीमाताको पूजाअर्चना भइरहेको छ ।
काठमाण्डौ महानगरपालिकाद्वारा आयोजित छठ पूजामा उपराष्ट्रपति रामसहायप्रसाद यादवलगायत विशिष्ट व्यक्तिले छठी माताको पूजा गर्नुभएको कमलपोखरी छठ पूजा समाजका सल्लाहकार दीपेन्द्र झाले जानकारी दिनुभयो ।
छठ पूजाका लागि पोखरी ध्वजापताकाले सिङ्गारिनुका साथै झिलीमिली बत्ती जडान गरिएको छ । महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डङ्गोल पनि छठीमाताको पूजाअर्चनाका लागि कमलपोखरी पुग्नुभएको थियो ।
भोलि सोमवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ । व्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ । ललितपुरको कुपण्डोललगायत क्षेत्रमा पनि छठ पूजाको रौनक बढेको छ । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोकाङ्क्षा पूरा हुने तथा दुःखकष्ट हटेर जाने जनविश्वास छ ।
यो पर्वमा षष्ठी भगवतीको पूजाअर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गरिन्छ । छठपर्वको उपलक्ष्यमा जलाशयमा स्नान गरी बेलुका दूध, चामल र सखरको खिर बनाई प्रसादका रूपमा ग्रहण गर्ने प्रचलन छ ।


प्रतिक्रिया