काठमाडौं । गायिका एलिना चौहानले सम्बन्धविच्छेदका लागि काठमाडौं जिल्ला अदालतमा दिएको निवेदनलाई ठूलो रूपमा नलिनका लागि आग्रह गरेकी छन् । आज (शनिबार) आफ्नो आधिकारिक टिकटक ह्यान्डलमा एक भिडिओ पोस्ट गर्दै एलिनाले यस्तो आग्रह गरेकी हुन् ।
‘अदालतको कुरा बाहिर कसरी आउँछ थाहा छैन, तर यसलाई ठूलो रूपमा लिएर प्रचार गर्नेभन्दा पनि इग्नोर गर्नुहोला,’ उनले भनेकी छन् । ‘आफूले माया गरेको मान्छेलाई गाली गर्दा आफूले गाली खाएको भन्दा धेरै पीडा हुने रहेछ,’ उनले भनेकी छन् । उनले श्रीमान विष्णु सापकोटालाई गाली नगर्न समेत आग्रह गरेकी छन् ।
‘जति गाली गर्न मन छ, मलाई गर्नुहोला । तर, उहाँलाई नगर्नु होला । सहमतिमै हामीले सम्बन्धविच्छेद गर्ने निर्णय लिएका हौँ,’ उनले भनेकी छन्, ‘कसैले पनि बिहे डिभोर्स हुन्छ भनेर गरेको हुँदैन । सात जुनीसम्मका लागि गरिन्छ अझ हिन्दू संस्कारमा त ।’ उनले बिहेअघि सम्बन्धमा रहँदा पनि बढी नै खटपट पर्ने गरेको खुलाएकी छन् । बिहे हतारमा गरेको स्वीकार्दै उनले भनेकी छन्, ‘बिहे गर्नु हतारको डिसिजन भयो । प्रेम सम्बन्धमा हुँदा पनि बढी नै खटपट हुन्थ्यो । तर, सहन्छु भनेरै बिहे गरें । तर, समय बित्दै जाँदा सहन सकिनँ । उहाँले सोचे जस्तो पनि भएन ।’
उनले आफूलाई विभिन्न नम्बरहरूबाट तारान्तार फोन आइरहेको समेत बताएकी छन् । त्यसले आफूलाई थप टर्चर दिइरहेको भन्दै उनले फोन नगर्न भनेकी छन् । अनुभवबाट सिकेर नयाँ जीवन शुरू गर्न चाहेको उनले बताएकी छिन् । ‘कृपया सहयोग गर्न नसके पनि बाधा नपार्दिनु होला’ एलिनाले भनेकी छन् । साथै एलिनाले आफ्ना जस्तै बुवाआमा नेपालका सबै छोरीले पाउन् भन्ने कामना पनि गरेकी छन् । चौहानले सम्बन्धविच्छेदका लागि शुक्रबार काठमाडौं जिल्ला अदालत एक निवेदन दिएकी छन् । उनीहरूले आफ्नो प्रेम सम्बन्धलाई २०८१ वैशाख ५ गते विवाहमा परिणत गरेका थिए । एलिनाका पति विष्णु अस्ट्रेलियामा बस्छन् ।


प्रतिक्रिया