मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हमासले थप चार जना इजरायली बन्धकहरूलाई रिहा गर्‍याे

हमासले थप चार जना इजरायली बन्धकहरूलाई रिहा गर्‍याे

न्यूजस्टोरी

युद्धविरामको सम्झौता अनुसार प्यालेस्टाइनको विद्रोही समूह हमासले थप चार जना इजरायली बन्धकहरूलाई रिहा गरेको छ । रिहा भएका चारै जना महिला हुन् । हमासले चार जनालाई रेडक्रसको जिम्मा लगाएपछि रेडक्रसकै गाडीले उनीहरुलाई इजरायली सीमासम्म पुर्‍याएको थियो । त्यसपछि सेनाको हेलिकप्टरमा इजरायलको राजधानी तेल अविव लगिएको बीबीसीले जनाएको छ ।

बन्धकहरूको रिहाइपछि तेल अविवमा खुशीको वातावरण देखिएको छ । जहाँ, परिवारका सदस्यहरू घण्टौंसम्म आफ्ना प्रियजनहरूको फिर्तीको प्रतीक्षामा थिए । हमासले यसअघि गएको सोमवार तीन जना इजरायली बन्धक रिहा गरेको थियो ।

इजरायलले पनि दुई सय जना प्यालेस्टाइनी बन्दी रिहाईको तयारी गरेको छ । जसमध्ये एक सय २० जना जन्मकैदको फैसला भएका व्यक्ति रहेका छन् । युद्धविरामको पहिलो चरणमा छ हप्ताभित्र हमासले महिला, बालबालिका, वृद्धवृद्धा र घाइतेसहित ३३ जनालाई क्रमशः रिहा गर्ने र त्यसको सट्टामा इजरायलले प्यालेस्टिनी बन्दी मुक्त गर्ने सहमति भएको छ ।

मध्यस्थकर्ता इजिप्टका अनुसार युद्धविरामको पहिलो चरणमा ३३ जना इजरायली बन्धकको बदलामा एक हजार आठ सय ९० जना प्यालेस्टाइनी बन्दी रिहा गर्ने तयारी छ । नेपालका विपिन जोशी पनि हमासको कब्जामा छन् । सरकारले उनको रिहाइको लागि पनि निरन्तर पहल गर्दै आइरहेको छ ।