मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भूकम्पबाट घरबासविहीन हुनेको सङ्ख्या झण्डै ६२ हजार पुग्यो

भूकम्पबाट घरबासविहीन हुनेको सङ्ख्या झण्डै ६२ हजार पुग्यो

न्यूजस्टोरी

काठमाडौ,२३ कार्तिक । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर घरबासविहीन हुनेको सङ्ख्या झण्डै ६२ हजार पुगेको छ ।
जाजरकोट, रुकुम पश्चिम, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला, कालीकोट, प्युठान र अछाममा गरी ६१ हजार ९ सय २३ वटा घरमा पूर्ण तथा आंशिक क्षति पुगेको सरकारी तथ्याङ्क छ ।पूर्ण र आंशिक क्षति भएका दुवैथरी घर बस्न मिल्ने नभएपछि पीडितहरु खुला ठाउँमा पाल टाँगेर बसिरहेका छन् । सबै पीडितलाई पाल पनि पुगेको छैन । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन सञ्चालन केन्द्रले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार जाजरकोट र रुकुम पश्चिममा मात्रै ६१ हजार ३२ घरमा पूर्ण तथा आंशिक क्षति पुगेको छ । रुकुम पश्चिममा १६ हजार ५ सय ७० र जाजरकोटमा ९ हजार ७ सय ९४ गरी २६ हजार ३ सय ६४ घरमा पूर्ण रुपमा क्षति पुगेको छ ।

त्यस्तै, जाजरकोटमा २४ हजार ७ सय ७ घर र रुकुम पश्चिममा ९ हजार ९ सय ६१ गरी ३४ हजार ६ सय ६८ घर आंशिक रुपमा क्षतिग्रस्त भएका छन् । भूकम्पले जाजरकोट र रुकुम पश्चिमसहित १३ वटा जिल्लामा क्षति गरेको छ ।

त्यस्तै, १३ वटा सरकारी कार्यालय तथा सार्वजनिक भवनमा क्षति पुगेको छ । भूकम्पबाट एक सय ५३ जनाले ज्यान गुमाएका छन् । तीन सय ६४ जना घाइते भएका छन् ।

यस्तै, भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा गरी झण्डै दुई अर्ब ४५ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । स्थलगत अध्ययन र अनुगमनका लागि पुगेको संसदीय समितिको टोलीसँग हिजो उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्पपछिको अवस्थाबारे ब्रिफिङ गर्नुभएको थियो ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको नेतृत्वमा ९ सदस्यीय टोली सुर्खेत हुँदै जाजरकोट पुगेको छ । टोलीले उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भूकम्पपछिको खोज, उद्धार, स्वास्थ्य उपचार र राहतबारे जानकारी समेत लिएको थियो।