मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काभ्रेको महाभारत जङ्गलमा लागेको डढेलो अझै नियन्त्रणमा आएन

काभ्रेको महाभारत जङ्गलमा लागेको डढेलो अझै नियन्त्रणमा आएन

न्यूजस्टोरी

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रस्थित महाभारत सामुदायिक वनमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । खानीखोला गाउँपालिका–१ थामलेख डाँडास्थित सो सामुदायिक वनमा मंगलबार दिउँसोदेखि डढेलो लागेको बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बुधबार साँझ त्यसतर्फ पठाइएको नेपाली सेना तथा प्रहरीका टोलीले स्थानीयसँग समन्वय गरी नियन्त्रणको पहल गरिरहेको जानकारी दिए । उनका अनुसार सुरक्षाकर्मीले आगलागीको क्षेत्र तथा मानवबस्तीको अनुगमन गरी मानबस्तीतर्फ आगो आउन नदिने गरी नियन्त्रणको पहल गर्न र क्षति हुने देखिए तत्काल स्थानान्तरण गर्न भनिएको छ ।

डिभिजन वन कार्यालय धुलिखेलका अनुसार मंगलबार दिउँसो २ बजेबाट वनको भिर क्षेत्रबाट डढेलो सुरु भएको हो । हाल डढेलो नियन्त्रणको अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । डढेलो नियन्त्रणका लागि अवस्था अनुगमन गर्न एक टोली त्यसतर्फ पठाइएको वन कार्यालयका प्रमुख कृष्णबहादुर थापाले बताए । उनका अनुसार वनमा आगो फैलिरहेकाले त्यसको नियन्त्रणका लागि आज जिल्लास्थित प्रशासन कार्यालय तथा सुरक्षा निकायको संयुक्त बैठकबाट उपाय खोजिनेछ ।

डढेलो नियन्त्रणका लागि अन्य सरोकारवाला निकायसँग समन्वय गरी आवश्यकीय उपकरणसहित थप जनशक्ति परिचालन गरिने प्रजिअ ढकालले बताए । डढेलो लागेको स्थानबाट मानव बस्ती करिव तीन किलोमिटरको दूरीमा रहेको जनाइएको छ । प्रहरीले भने हालसम्म कुनै मानवीय एवं पशुमा क्षति नपुगेको जनाएको छ ।