दक्षिण कोरियाले रूस–युक्रेन युद्धमा उत्तर कोरियाका एक हजार एक सयभन्दा धेरै सैनिकको ज्यान गएको दाबी गरेको छ । दक्षिण कोरियाली गुप्तचर निकायले डिसेम्बरमा युद्धमा प्रवेश गरेयता कम्तीमा एक सय उत्तर कोरियाली सैनिक मारिएको रिपोर्ट गएको हप्ता सांसदहरूलाई बुझाएको थियो । त्यसयता थप एक हजार उत्तर कोरियाली सैनिकले ज्यान गुमाएका बताएको समाचारसंस्था एएफपीले जनाएको छ ।
दक्षिण कोरियाली सेना प्रमुखले निकाल्नुभएको विज्ञप्तीमा रुसलाई सहयोग गर्न थप उत्तर कोरियाली सैनिक तैनाथ गरिने सम्भावना रहेको उल्लेख छ । युक्रेनविरुद्धको लडाईमा रुसलाई थप सहयोग गर्न उत्तर कोरियाले विनाशकारी ड्रोनहरूको उत्पादन गर्न र उपलब्ध गराउन लागेको पनि दक्षिण कोरियाली गुप्तचर निकायको दाबी छ ।
उत्तर कोरियाले रूस–युक्रेन युद्धमा लडाई अनुभवको आधारमा आफ्नो परम्परागत युद्ध क्षमतालाई आधुनिकीकरण गर्ने लक्ष्य राखेको र त्यसले आफूहरूमाथि सैन्य खतरा बढाउन सक्ने दक्षिणको दाबी छ । रुसले सन् २०२२ फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेपछि उत्तर कोरिया र रूसबीच सैन्य सम्बन्ध बलियो बनेको छ ।
दुई देशबीच गएको जुनमा हस्ताक्षर भएको रक्षा सम्झौता यही डिसेम्बरदेखि लागू भएको छ । जसअनुसार उत्तर कोरियाका ११ हजारभन्दा धेरै सेना रुसको सहयोगका लागि युद्धमा खटिएका विज्ञहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
विज्ञहरुका अनुसार उत्तर कोरियाली नेता किम जोङ–उन रुसबाट अत्याधुनिक प्रविधि र आफ्ना सैनिकका लागि युद्धको अनुभव हासिल गर्न इच्छुक रहेका एएफपीले जनाएको छ ।
प्रतिक्रिया