बुटवल, २७ असोज । एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले देश असाधारण आर्थिक संकटको डिलमा पुगेको बताउनुभएको छ । सरकारले कर्मचारीलाई तलब खुवाउनसमेत आन्तरिक ऋण लिनुपर्ने अवस्थामा मुलुकको अर्थतन्त्र पुग्नुले देशको आर्थिक असाधारण अवस्थामा पुगेको पुष्टि भएको बताउनुभयो । प्रेस चौतारी रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको दसैं(तिहार शुभकामना कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले अर्थतन्त्रलाई ट्र्याकमा ल्याउन सरकारले कुनै ठोस कदम चाल्न नसकेको आरोप लगाउनुभयो ।
‘आन्तरिक ऋण बढ्दैछ, तलब, सामाजिक सुरक्षा कोष, पेन्सन रोकिइरहेको छ, अर्थतन्त्र गम्भीर मोडमा छ,’ पौडेलले भन्नुभयो , ‘मुलुकमा संकटपूर्ण अवस्था कसरी आयो भन्ने विषयमा ध्यान नदिएर सत्तारुढ गठबन्धन दल कसरी सत्तामा बस्ने र रमाउने भन्ने विषयमै केन्द्रित छ ।’ उहाँले मुलुकको अर्थतन्त्रको समस्या अपरेसन समाधान गर्नुपर्ने भए पनि गठबन्धन सरकार टालटुल पारेर समस्या टार्ने अर्थतन्त्रको बेथितिलाई बढाउने काममा लागेको बताउनुभयो । ‘मुलुकको अर्थतन्त्रको मेजर अपरेसन गर्नुपर्नेमा सरकारले सिटामोल पनि दिन नसकेको अवस्था छ, सिटामोल छैन, अनि चल्छ ?’ उहाँले प्रश्न गर्नुभयो । उहाँले थप्नुभयो , ‘अन्तर्राष्ट्रिय सहयोग कम आइरहेको छ । पुँजी पलायन भइरहेको छ, व्यवसायीको ढाड भाँच्ने अवस्था सिर्जना हुँदा पनि सरकार मूकदर्शक बनेको छ।’ पछिल्लो समय सरकारले अपराधमा राजनीतिकरण र राजनीतिमा अपराधिकरण बढाएको भन्दै त्यसले देशको छवि धुमिल बनाएको उहाँले दाबी गर्नुभयो ।


प्रतिक्रिया