काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सञ्चालन गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा अन्तरिम आदेश नआएसँगै क्यानलाई राहत भएको छ । जोरा स्पोर्ट्स म्यानेजमेन्ट प्रालिका आमिर अख्तरले नेपाल प्रिमियर लिग नाम आफूले यसअघि नै सञ्चालन गरेको र दर्ता गरेको दाबी गर्दै सोही नाममा अर्को अर्को लिग गर्न नपाइने दाबीसहित सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सोही रिटमाथि सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्चले यो प्रकरणमा कारण देखाऊ आदेश भने जारी गरेको छ ।
अख्तरले यसअघि नेपाल प्रिमियर लिगको नाममा क्रिकेट फ्रेन्चाइज लिग आयोजना गरेका थिए । तर, त्यसमा विवाद भएपछि उनी आफैँले अर्को संस्करण भने सो नामबाट नगरी एभरेस्ट प्रिमियर लिग नामबाट प्रतियोगिता आयोजना गरेका थिए । त्यतिबेला क्यान आईसीसीको निलम्बनमा रहेकाले क्यानबाहिरबाट यस किसिमका तीनवटा लिग हुने गरेका थिए ।
तर, क्यानको निलम्बन फुकुवा भएसँगै क्यानले आफैँ लिग आयोजना गर्ने भन्दै अन्य लिग आयोजना गर्न नपाउने निर्णय गर्यो । त्यसपछि ईपीएल, डीपीएल र पीपीएल हुन पाएनन् । गत वर्ष क्यान आफैँले सञ्चालन गरेको नेपाल क्रिकेट लिग पनि विवादमा आएको थियो । त्यसपछि यो वर्ष भने क्यानले नेपाल प्रिमियर लिगको नाममा प्रतियोगिता गर्दै छ । प्रतियोगिताको धेरै काम पूरा भइसकेको छ । टिम चयनदेखि खेलाडी चयनसम्म भइसकेको छ ।


प्रतिक्रिया