मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जलवायु जोखिम न्यूनीकरणमा सामुदायिक पहलः चन्द्रपुरमा खेतीदेखि तटबन्धसम्म सकारात्मक प्रभाव

जलवायु जोखिम न्यूनीकरणमा सामुदायिक पहलः चन्द्रपुरमा खेतीदेखि तटबन्धसम्म सकारात्मक प्रभाव

न्यूजस्टोरी

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका अक्सफाम नेपाल तथा सहयोग ग्रामीण विकास केन्द्र नेपालको संयुक्त साझेदारीमा सञ्चालित “जलवायु जोखिम तथा संकटासन्नताको लागि सामुदायिक उत्थानशील परियोजना” अन्तर्गत आइतबार संयुक्त अनुगमन भ्रमण सम्पन्न गरिएको छ । चन्द्रपुर र गुजरा नगरपालिकालाई कार्यक्षेत्र बनाएर सञ्चालन गरिएको उक्त परियोजनाले समुदायमा जलवायु उत्थानशीलता अभिवृद्धि गर्ने उद्देश्य राखेको छ ।
परियोजनाले समुदायहरूमा जीविकोपार्जन विविधिकरण, सामुदायिक नेतृत्वमा आधारित अनुकूलन योजना निर्माण तथा समावेशी शासन प्रणालीको प्रवर्द्धन गर्दै जलवायु उत्थानशीलता सुदृढ बनाउने लक्ष्य राखेको छ । सोही क्रममा आइतबार चन्द्रपुर नगरपालिकामा परियोजनाबाट सहयोग प्राप्त गरेका कृषकहरूको तरकारी खेती, खरबुजा खेती, नर्सरी तथा नदी तटबन्ध निर्माणलगायत गतिविधिको संयुक्त रूपमा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा चन्द्रपुर नगरपालिका वडा नं. ७ की शान्तिदेवी रामको जीवनशैलीमा उल्लेखनीय परिवर्तन आएको पाइएको छ । उनले परियोजनाको सहयोगमा जलवायु मैत्री खेती प्रविधि अन्तर्गत प्लास्टिक मल्चिङ प्रयोग गरी तरकारी खेती सुरु गरेकी जानकारी दिइन् । करिब ४ कठ्ठा जमिनमा उनले लौका, करेला, काँक्रो, टमाटरलगायतका विभिन्न तरकारी लगाएकी छिन् । परियोजनाबाट करिब ५० हजार रुपैयाँ बराबरको कृषि सामग्री सहयोग प्राप्त गरेपछि अहिले आफू तरकारी खेतीमै रमाइरहेको उनले बताइन् ।
त्यस्तै अनुगमन टोलीले चन्द्रपुर नगरपालिका वडा नं. १० मा बगर क्षेत्रमा खरबुजा खेती गरेका किसान छबिलाल चौधरीको खेतीसमेत अवलोकन गरेको थियो । उनले परियोजनाको सहयोगमा करिब एक कट्ठा क्षेत्रफलमा खरबुजा खेती सुरु गरेको जानकारी दिए । बगर क्षेत्रमा गरिएको यस्तो खेतीले अन्य किसानलाई पनि प्रेरणा दिएको बताइएको छ ।
यसैगरी चन्द्रपुर नगरपालिका वडा नं. ५ मा रहेको संघर्ष युवा क्लबले परियोजनाको सहयोगमा नर्सरी सञ्चालन गरिरहेको पाइएको छ । नर्सरीमा विभिन्न किसिमका तरकारी तथा फलफूलका बिरुवाहरू उत्पादन भइरहेको अनुगमन टोलीले जनाएको छ ।
त्यसैगरी चन्द्रपुर नगरपालिका वडा नं. २ को जुडिबेला क्षेत्रमा परियोजनाले निर्माण गरेको नदी तटबन्धले सिंगो बस्तीलाई सम्भावित बाढीको जोखिमबाट जोगाएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार वर्षायाममा खोला बस्ती तर्फ फर्किने खतरा बढेपछि तटबन्ध निर्माणले ठूलो राहत पुगेको छ । तटबन्धलाई अझ अगाडिसम्म विस्तार गर्न सके थप प्रभावकारी हुने स्थानीयको सुझाव रहेको छ ।
सोही क्षेत्रमा सिँचाइका लागि पोखरीसमेत निर्माण गरिएको छ । चन्द्रपुर–२ पुलामी टोलकी सीतादेवी अधिकारीले परियोजनाको सहयोगमा करिब १० धुर क्षेत्रफलमा टमाटर खेती सुरु गरेकी जानकारी दिइन् । जलवायु मैत्री प्रविधिबाट गरिएको खेती राम्रो उत्पादन दिएको भन्दै आगामी वर्ष अझ ठूलो क्षेत्रफलमा खेती विस्तार गर्ने योजना रहेको उनले बताइन् ।
आइतबार सम्पन्न संयुक्त अनुगमन भ्रमण कार्यक्रममा अक्सफामका प्रतिनिधिहरू माधव राज रेग्मी, विवेक कार्की, शिवानी ढकाल र सुजित चौधरी, चन्द्रपुर नगरपालिकाकी उपप्रमुख जयमाला चौधरी, प्रमुख प्रशासकीय अधिकृत भरत श्रीवास्तव, जिल्ला समन्वय समितिका प्रतिनिधि, आरडिसी नेपालका कार्यकारी निर्देशक आशिष सिंह, कृषि ज्ञान केन्द्रका प्रतिनिधि, डिभिजन वन कार्यालयका अधिकृत नेपाली साह, पत्रकार तथा आरडिसी नेपालकी फिल्ड अफिसर ज्योति फुयाल लगायत विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
अनुगमन टोलीले परियोजनाबाट सञ्चालन भइरहेका कार्यक्रमहरूले समुदायमा जलवायु अनुकूल खेती, आयआर्जन र बस्ती संरक्षणमा सकारात्मक प्रभाव पार्न थालेको निष्कर्ष निकालेको जनाएको छ ।