काभ्रे, ४ असोज । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडकखण्डको जनागाल–भैँसेपाटीमा कालोपत्र शुरु गरिएको छ । वर्षाका कारण रोकिएको कालोपत्र शुरु गरिएको हो । यसअघि असार र साउनमा मनसुनका कारण विस्तार रोकिएकोमा अहिले जनागालबाट भैँसेपाटीतर्फ कालोपत्र शुरु गरेको आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले बताउनुभयो ।
बनेपाको पुलबजार क्षेत्रमा भने सेन्टर लाइनको विषयलाई लिएर झन्डै छ महिनादेखि स्थानीयबासिन्दाले अवरोध गरेका छन् । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेलसम्मको सडक विस्तार समयमा नै नसकिने भएको छ ।
२०७९ पुस २४ देखि शुरु गरिएको १६ किलोमिटर लम्बाइको यस सडक ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । सडकखण्ड सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी दुई खण्डमा विभाजन गरी ठेक्का सम्झौता भई विस्तार भइरहेको छ । अहिले दुई खण्डमध्ये सूर्यविनायक–साँगा खण्डको ४० प्रतिशत र साँगा–धुलिखेल खण्डमा ५० प्रतिशत काम सकिएको खनालले जानकारी दिनुभयो ।


प्रतिक्रिया