काठमाडौं, २० भदौ । नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरू निष्क्रिय गरिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार नेपाल टेलिकम र एनसेलले बिहीबारदेखि आफ्ना नेटवर्कमार्फत यी सञ्जालहरू बन्द गरेका हुन् ।
नेपाल टेलिकमले सार्वजनिक सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेश, मन्त्रिपरिषद्को निर्णय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रिस्तरीय निर्देशनअनुसार सूचीकरण नगरेका सामाजिक सञ्जालहरू निष्क्रिय गरिएको जनाएको छ । यस्तै, एनसेलले पनि विज्ञप्ति जारी गर्दै सरकारको निर्देशनअनुसार फेसबुक, युट्युब, इन्स्टाग्राम, म्यासेन्जर, ह्वाट्सएपलगायतका लोकप्रिय प्लेटफर्मसहित २६ वटा सञ्जाल आफ्नो सेवामा बन्द गरिएको जनाएको छ ।
यसअघि मन्त्रिपरिषद्को गत भदौ ९ गतेको बैठकले ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ बमोजिम सात दिनभित्र अनिवार्य दर्ता वा सूचीकरण गर्न निर्देशन दिएको थियो । त्यसपछि मन्त्रालयले १२ भदौमा सामाजिक सञ्जाल कम्पनीहरूलाई सम्पर्क गर्न आह्वान गरेको थियो । तर तोकिएको समयमा सम्पर्क नगरेका प्लेटफर्महरूलाई निष्क्रिय गर्न प्राधिकरणमार्फत दूरसञ्चार कम्पनीलाई निर्देशन दिइएको हो ।
मन्त्रालयका अनुसार सूचीकरण आवश्यक पर्ने मुख्य कारण अनिच्छित सामग्रीको मूल्याङ्कन र प्रभावकारी अनुगमन सुनिश्चित गर्नु हो । सूचीकरणमा आएका वा प्रक्रियामा रहेका सञ्जालहरू भने नेपालमै सञ्चालन गर्न पाउनेछन् । हालसम्म भाइबर, टिकटक, विटक, निम्बस र पोपोलाइभ सूचीकरण भइसकेका छन् भने टेलिग्राम र ग्लोबल डायरी प्रक्रियामा छन् ।
तर नेपालमा दैनिक लाखौँ प्रयोगकर्ता सक्रिय रहने फेसबुक, युट्युब, इन्स्टाग्राम, ह्वाट्सएप र म्यासेन्जर जस्ता सञ्जाल बन्द भएपछि प्रयोगकर्ताहरूले असन्तुष्टि जनाएका छन् । कतिपयले सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाएको टिप्पणी गरेका छन् भने कतिपयले अन्तर्राष्ट्रिय कम्पनीहरूसँग संवादमार्फत समस्याको समाधान खोज्नुपर्ने सुझाव दिएका छन् ।


प्रतिक्रिया