काठमाडौं, ३१ साउन । पहिरोका कारण आज बिहानैबाट त्रिभुवन राजपथको भैँसे–सिमभञ्ज्याङ सडक खण्ड अवरुद्ध भएको छ ।
त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–९ लामिडाँडाको सडक खण्डमा माथिबाट ढुङ्गासहित रुखहरु खसेर सडक पूर्णरुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सडक अवरुद्ध भएपछि प्रहरी चौकी भैँसेबाट प्रहरी टोली गई सडक विभागसँग समन्वय गरी सडक खुलाउने कार्य भइरहेको मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
त्यस्तै हिजो रातिदेखि आएको अविरल वर्षाका कारण बाजुरा सदरमुकाम जोड्ने साँफे– मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।
वर्षाका कारण बडीमालिका नगरपालिका–४ रिला खोलामा बाढी आएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिनुभयो ।
राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका गाडी आवतजावतमा समस्या भएको छ ।
लगातार वर्षा भइरहेकाले बाटोको पहिरो पन्छ्याउँदा पनि माथिबाट पहिरो आइरहेकाले बाटो खुलाउन समस्या भएको प्रहरी निरीक्षक चौधरीको भनाइ रहेको छ ।


प्रतिक्रिया