बुटवल, २५ साउन । बुटवलले आज सार्वजनिक बिदा दिएको छ । गाईजात्रा (सापारू) पर्वको अवसरमा बुटवल उपमहानगरपालिकाले आज स्थानीय सार्वजनिक बिदा दिएको हो ।
उपमहानगरपालिकाले एक सूचना जारी गर्दै आज नगर क्षेत्रका सबै कार्यालय, विद्यालय तथा वडा कार्यालयहरू बन्द रहने जनाएको हो ।
नगर प्रमुख खेलराज पाण्डेयद्वारा हस्ताक्षरित सूचनामा गाईजात्रा (सापारू) पर्वको सांस्कृतिक महत्वलाई सम्मान गर्दै आजको सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख छ । बिदा अवधिमा उपमहानगरपालिकाअन्तर्गतका सबै १९ वटा वडा कार्यालयहरू, नगर कार्यालय तथा मातहतका निकायहरू बन्द रहनेछन् ।
यससँगै नगर क्षेत्रका सामुदायिक, निजी तथा संस्थागत विद्यालयहरूमा पनि एक दिनका लागि बिदा हुने उपमहानगरपालिकाले जनाएको छ । गाईजात्रा पर्व विशेषगरी नेवारी समुदायले मृतक आत्माको शान्तिका लागि विभिन्न सांस्कृतिक झाँकी, नाचगान र हाँस्यव्यंग्यात्मक कार्यक्रमसहित मनाउने परम्परा रहेको छ ।


प्रतिक्रिया