नवलपरासी, ४ साउन । बुटवल–नारायणगढ सडकअन्तर्गतको नवलपरासी दाउन्ने खण्ड एक वर्षमा ६३ पटक अवरुद्ध भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीका अनुसार २०८१ साउन १ गतेदेखि २०८२ असार ३२ गतेसम्म बुटवल–नारायणगढ सडक पूर्ण वा आंशिक रूपमा पटक–पटक अवरुद्ध भयो ।
पहिरो, वर्षासँगै बग्ने माटो र हिलोले यो सडकको यात्रा सहज छैन । दाउन्ने क्षेत्रको विश्वकर्मा मन्दिर, घ्युखोला र त्रियासी मोडजस्ता ठाउँहरू बढी प्रभावित हुने क्षेत्र हुन् । सडक विस्तारका लागि दाउन्ने पहाडमा गरिएको भित्तो कटानले पहिरोको जोखिम बढाएको ट्राफिक प्रमुख जनक बन्जाराले बताउनुभयो । घाम लाग्दा धुलो र खाल्डाखुल्डीका कारण पनि दाउन्ने खण्डमा सधैँजसो समस्या हुँदै आएको छ ।
गएको पुस २६ गते विनयी त्रिवेणी गाउँपालिका–१ मा रहेको विनयी खोलाको पुल भत्किएपछि अझ अस्तव्यस्त भएको थियो । गएको असार १९ गतेदेखि नयाँ पुल सञ्चालनमा आएपछि केही सहज भएको छ । अहिले पर्खाल, कल्भर्ट र ढलानको काम भइरहेको पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालले जानकारी दिनुभयो ।
गैँडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटर खण्डमा बजार क्षेत्रमा सर्भिस लेनसहित छ लेन र जोखिमयुक्त दाउन्ने क्षेत्रमा तीन लेनको सडक विस्तारको काम भइरहेको छ । चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसनले १७ अर्ब रुपैयाँको लागतमा सडक निर्माणको ठेक्का लिएको हो । यसअघि तीनपटक म्याद थपिएको यो आयोजना यही साउन मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ ।


प्रतिक्रिया