विराटनगर । झापामा सामूहिक कुटपिटबाट एक युवतीको ज्यान गएको छ । अर्जुनधारा नगरपालिका–४ भाङवारी स्थायी घर भइ शनिश्चरे क्याम्प नजिक बस्दै आएकी २२ वर्षीया गंगा राईको कुटपिटबाट मृत्यु भएको हो ।
गंगाको कोठामा आफ्ना श्रीमान् रमेश भुसाल गएको थाहा पाएपछि उनकी पत्नी सुस्मिता भुसाल केही महिला साथीसहित त्यहाँ पुगेकी थिइन् । त्यसक्रममा गंगामाथि निर्घात कुटपिट गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।सुस्मिता ५४ वर्षीया मैयाँ श्रेष्ठ, ३८ वर्षीया बबिता विक, २४ वर्षीया मेनुका पाँचकोटी र ६० वर्षीया नर्बदा सुन्दासलाई लिएर गंगाको कोठामा पुगेकी थिइन्।मंगलबार राति ११ बजेतिर कुटपिटबाट गम्भीर घाइते भएकी गंगालाई सुरुमा शनिश्चरेस्थित शंकर अस्पताल पुर्याइएको थियो । त्यहाँबाट थप उपचारका लागि बिर्ता सिटी अस्पताल लगिए पनि बुधबार बिहान १:२० बजे उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।
घटनामा संलग्न सुस्मिता, उनका पति रमेशसहित ५ जना महिलालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ।


प्रतिक्रिया