मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाढी आउने गरी वर्षा मापन नभएको विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाको भनाइ

बाढी आउने गरी वर्षा मापन नभएको विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाको भनाइ

न्यूजस्टोरी

काठमाडौं, ९ असार । पछिल्लो ६ घण्टामा देशभर अत्यधिक वर्षा मापन भएको छैन । जल तथा मौसम विज्ञान विभागको सञ्जालमा रहेका मापन केन्द्रमध्ये पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै डडेल्धुराको गाँबाँधेमा ४७ दशमलव ८ मिलिमिटर वर्षा मापन भएको छ । यति पानी पर्नुलाई सामान्य मानिन्छ । अरू ठाउँमा योभन्दा कम वर्षा भएको छ । बाढी आउने गरी वर्षा मापन नभएको विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । मनसुन सक्रिय रहेको अवस्था भएकोले कुनै ठाउँमा छोटो समयमा धेरै वर्षाको सम्भावना रहेकोले सचेत रहनुपर्ने मौसमविद्ले बताएका छन् ।

मौसम तथा पर्यावरण विज्ञ उज्जवल उपाध्यायका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वी र मध्य–भूभागमा आएर बसेकोले नियमित वर्षा गराउने सम्भावना रहन्छ । उहाँका अनुसार पर्सि बुधवारसम्म मौसम खुलेर घाम लाग्ने सम्भावना कम रहेको र छिनछिनमा वर्षा भइरहने भएकोले धान खेतीका लागि उपयुक्त मौसम हुनेछ ।

नेपालको मुख्य उत्पादन धानको खेतीका लागि धेरै ठाउँका किसान आकाशेपानीमा भर पर्ने गरेका छन् । ससाना मूल फुटेर वा सीधै खेतमा जम्मा भएको पानीबाट पनि रोपाइँ गर्ने गरिन्छ । अहिले पहाडी क्षेत्रमा धमाधाम रोपाइँ भइरहेको छ भने मध्यपहाडका केही ठाउँमा शुरू भएको छ । तराई मधेशमा भने बीउ छर्ने काम भइरहेको छ ।

यसपालि मनसुनको शुरूमै नियमित वर्षा भइरहेकोले धानखेतीका लागि मौसम अनुकूल बनेको छ । यो वर्षको मनसुनमा औसतभन्दा धेरै वर्षा हुने अनुमान रहेकोले धान रोपाइँ समयमा हुने आशा बढेको छ ।