काठमाडौं, ५ असार । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भू-भाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू(भागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
भारतको पश्चिम बङ्गाल आसपास बनेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ । देशका विभिन्न स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यस्तै, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
यस्तै, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
आज सूर्योदय बिहान ५ बजेर ८ मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजेर २ मिनेटमा हुनेछ ।


प्रतिक्रिया