विराटनगर । मोरङको अलगअलग स्थानमा दुर्घटना हुँदा प्रहरीसहित दुईजनाको मृत्यु भएको छ । बालकसहित ६ जना घाइते भएका छन् । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत कानपोखरी गाउँपालिका–७ डाँस खोला पुलको डाइभर्सनमा मोटरसाइकल दुर्घटना हुँदा नेपाल प्रहरीका सहायक हवल्दार ३१ वर्षीय जितेन्द्र चौधरीको मृत्यु भएको छ । पथरीबाट कानेपोखरीतर्फ आउँदै गरेको प्र १–०२–०४३ प २४७१ नम्बरको मोटरसाइकलमा श्रीमती र छोरासहित चौधरी सवार थिए ।
इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालका अनुसार डाइभर्सनमा अनियन्त्रित भएर शनिबार राति ८ बजेतिर मोटरसाइकल दुर्घटनामा परेको हो । दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारीमा उपचारका क्रममा मृत्यु भएको दाहालले बताए ।
बेलबारी नगरपालिका– ४ घर भएका चौधरी इलामको प्रहरी चौकी जमुनामा कार्यरत थिए । दुर्घटनामा उनकी श्रीमती प्रहरी चौकी जमुनामै कार्यरत २६ वर्षीया प्रहरी जवान विमला धिमाल चौधरी र २ वर्षीय छोरा जेशन चौधरी गम्भीर घाइते छन् ।
घाइतेमध्ये विमलाको अवस्था गम्भीर छ । घाइते आमा–छोराको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै, मोरङको रंगेलीमा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । हुलाकी राजमार्गअन्तर्गत रंगेली नगरपालिका– ७ संसारीमाई नजिकै को २ च १३०० नम्बरको पिकअप आइतबार बिहानका राति दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ब्रोइलर कुखुराको दाना लिएर पिकअप विराटनगरबाट आमबारीतर्फ जाँदै थियो । सडकको डिभाइडरमा गाडी ठोक्किएर दुर्घटना हुँदा चालक विराटनगर महानगरपालिका–८ का ४५ वर्षीय चेतराज खनालको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले बताए । लम्सालका अनुसार खनालको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा परेर पिकअपमा सवार २३ वर्षीय राम राजवंशी,२१ वर्षीय छत्र पराजुली, ३२ वर्षीय दिपेश पौडेल सामान्य घाइते भएका छन् । पिकअपको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया