शेखर छत्कुली
वीरगंज, १२ जेष्ठ । सशस्त्र प्रहरी बल पर्साले अवैध रुपमा भन्सार छलेर नेपाल भित्र्याउदै गरेको प्रतिवन्धित बोइलर कुखुराको चल्ला ठुलो मात्रामा नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हे।क्वा। पर्साबाट खटिएको टोलीले ३ वटा मोटरसाइकलमा रहेको ७५ कार्टुन कुखुराको चल्ला नियन्त्रणमा लिएको हो।

पर्सा जिल्लाको बहुदरमाई नगरपालिका–५ डोकैला चौकमा भारतबाट चोरी पैठारी गरी ल्याइएका ७५ कार्टुन (७५०० वटा) प्रतिबन्धित ब्रोईलर कुखुराका चल्ला नियन्त्रणमा लिएको सशस्त्र प्रहरी १३ नम्वर गण चिनीमिलका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरिक्षक देवेन्द्र सिंहले बताएका छन्।
तसकरले भारतबाट उक्त चल्ला तीनवटा भारतीय नम्बर प्लेटका मोटरसाइकलमा लोड गरी नेपालतर्फ ल्याइँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो ।
कुनैपनि पशुपन्छी नेपाल भित्र्याउदा क्वारेन्टाइनबाट रोगी छ छैन चेकजाँच गरी अनिमात्र भित्रयाउने प्रावधान रहेको हुदा सो प्रावधान झन्झटिलो भएका कारण तस्करहरुले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको मिलोमतोमा भित्राउने गरेका छन् ।

बरामद भएका चल्लाहरुलाई आवश्यक प्रक्रिया पूरा गरी स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी तथा क्वारेन्टाइन कार्यालयका प्रतिनिधिहरूको रोहवरमा नं १३ गण परिसरभित्र नष्ट गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी देबेन्द्र बहादुर सिंहले जानकारी दिए ।
साथै, उक्त चल्ला पैठारीमा प्रयोग गरिएका तीनवटा मोटरसाइकलहरू आवश्यक कारवाहीका लागि बीरगंज भन्सार कार्यालयमा बुझाउने प्रक्रियामा रहेको पनि सशस्त्र प्रहरी बल पर्साले जनाएको छ।


प्रतिक्रिया