मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘मैले कसैसँग एक रुपैयाँ घुस लिएको छैन’-माधव नेपाल

‘मैले कसैसँग एक रुपैयाँ घुस लिएको छैन’-माधव नेपाल

न्यूजस्टोरी

काठमाडौं, २४ जेष्ठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बदलाको भावनाले आफूमाथि भ्रष्टाचार मुद्दा दायर भएको बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोनगरमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राजनीतिमा आफ्नो पार्टीको भूमिका महत्त्वपूर्ण रहेकाले त्यसलाई देखेर ईष्या गर्नेहरू आत्तिएका बताउनुभयो । उहाँले आफूमाथिको चुनौतीको सामना गर्ने उल्लेख गर्नुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘नेपालको राजनीतिमा हाम्रो पार्टीको भूमिका महत्त्वपूर्ण रहेको छ । हाम्रो पार्टीको भूमिकालाई देखेर कतिपय व्यक्तिहरू आत्तिएका छन् । आतङ्कित भएका छन् । पूर्वाग्रह राखेर बसेका छन् । बदलाको भावनाले उनीहरूलाई पोलिरहेको छ । त्यसैको एउटा उदाहरणका रूपमा ममाथि भ्रष्टाचारको मुद्दा लगाउनका लागि पहल भएको छ । माधव नेपालले कसैसँग एक रुपैयाँ घुस लिएको भए, एक दाम जग्गा घुस लिएको भए, अनुचित काम गरेको भए, देश र नागरिकलाई नोक्शान हुने कुनै काम गरेको भए त्यसको सम्पूर्ण जिम्मेवारी म लिन तयार छु । मैले भन्ने गरेको छु, नबिराउनु, नडराउनु । जब कुनै कुत्सित मनसाय छैन, निजी स्वार्थबाट कुनै काम भएको छैन, आफ्नो फाइदा र लाभका लागि कुनै काम गरेको छैन भने आत्तिनुपर्ने आवश्यकता छैन । सबै गलत कुरा, आरोपको विरुद्धमा दृढताका साथ उभिनेछु । मलाई विश्वास छ, न्यायपालिकाले न्याय दिनेछ । न्यायको जीत हुनेछ । अन्यायको हार हुनुपर्छ ।’

अध्यक्ष नेपालले असल उद्देश्यका साथ गरिएको काममा आत्तिनुपर्ने आवश्यकता नरहेको जिकिर गर्नुभयो । आफूबाट कुनै भ्रष्टाचारजन्य काम नभएको उहाँले दाबी गर्नुभयो । विचार र मन मिलेन भन्दैमा शत्रुता राख्न नहुने उहाँको भनाइ छ ।