मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पतञ्जलि जग्गा प्रकरण : सूर्यविनायकका मेयर थापा र याक एण्ड यतीका सञ्चालकविरुद्ध पनि मुद्दा

पतञ्जलि जग्गा प्रकरण : सूर्यविनायकका मेयर थापा र याक एण्ड यतीका सञ्चालकविरुद्ध पनि मुद्दा

न्यूजस्टोरी

काठमाडौं । पतञ्जलिको जग्गा हिनामिना प्रकरणमा भक्तपुरको सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर दायर गरेको भ्रष्टाचार मुद्दामा मेयर थापाको नाम समेत प्रतिवादीको सूचीमा छ।

थापाले हदबन्दी छुट जग्गा गैरकानुनी रुपमा पतञ्जलिले किनबेच गरेकामा त्यसपछि थापाले पनि जग्गा किनेका थिए । थापा २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा भक्तपुर सूर्यविनायक नगरपालिकामा एमालेबाट निर्वाचित भएका हुन्। हाल जग्गाधनी रहेका थापाले आफूले साविक साँगा गा.वि.स.वडा नं.४ (ख) को कि.नं ५५२ को जग्गा डिल्लीध्वज बराइलीसँग एक करोड ३० लाख ६६ हजारमा खिद गरेको बयन दिएका छन् ।

‘जग्गाधनी श्रेस्ताहरुमा उल्लेखित नाम बासुदेव थापा म नै हो। दोलखा जिल्ला जुगुं बस्ने हाल सूूर्यविनायक न.पा. ८ बस्ने डिल्ली ध्वज बराईलीसँग एक करोड ३० लाख ६६ हजारमा १० महिना अगाडि खरिद गरेको हुु, हाल प्रयोगमा छैन, कसैलाई बिक्री वितरण पनि गरेको छैन’ भनेर २०८१ कात्तिकमम अख्तियारमा बयान दिएका थिए। ‘मलाई त्यो पतञ्जलीको जग्गा भन्ने थाहा नभएको, मैले डिल्लीध्वज बराईलीसँग किनेको हो। उनी चिनजानको साथी हुन्। निजले के कुन बिधि र प्रक्रियाबाट आफ्नो नाममा कायम गरेको भन्ने मलाई थाहा छैन । मैले वडा कार्यालय, मालपोत कार्यालय मोठ रोक्का हेरी रित पुर्‍याई खरिद गरेको हो। जग्गाको हदबन्दी, मन्त्रिपरिषदको निर्णय कुनै जानकारी छैन’ भनी जिकिर गरेका छन्। जग्गा जफत प्रयोजनका लागि मेयर थापासहित २८ ब्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाइएको छ। बाँकी ६३ जना भने बिगो, कैद र जरिवाना मागदाबीसहितका प्रतिवादी छन्।

यस्तै पतञ्जलिको जग्गा प्रकरणमा राधेश्याम सराफ र उनका छोरा अरुणकुमार सराफ पनि मुछिएका छन् । उक्त अनियमितता प्रकरणमा अख्तियारले दुरुपयोग अनुसन्धान आयोगले सराफका बाबुछोरालाई पनि प्रतिवादी बनाएको हो। राधेश्याम सराफ याक एण्ड यती र हायात रिजेन्सी होटलका सञ्चालक समेत हुन्। उनको २०७८ सालमै मृत्यु भइसकेको छ। मृतक सराफ र उनका छोराविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो।

राधेश्याम सराफको मृत्यु भएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनको हकमा अरुण कुमारलाई बिगो असुल उपर गर्ने प्रयोजनार्थ प्रतिवादी बनाएको छ। अख्तियारका अनुसार उनीहरूले हदबन्दीभन्दा बढीको जग्गा चौताराम प्रालिको नाममा दर्ता गराएर त्यो जग्गा पतञ्जलि योगपीठको नाममा पास गराइएको थियो। चौतारामको सञ्चालकको हैसियतले राधेश्यामविरुद्ध पनि अभियोग लगाइएको छ। अख्तियारले ५१ लाख रुपैयाँ बिगोसहित कैद सजायको माग गर्दै अदालतमा मुद्दा दायर गरेको छ।