काठमाडौं । सरकारले एकैपटक १० जना सचिवको सरुवा गरेको छ ।
सिंहदरबारमा जेठ १२ गते सोमबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले निजामती सेवाका राजपत्राङ्कित विशिष्ठ श्रेणीका १० सचिवहरुको सरुवा गर्ने निर्णय भएको जानकारी दिए ।
बैठकले प्रशासन सेवा समूहतर्फ सहसचिव भुपाल बराल र इन्जिनियरिङ सेवा तर्फ दिनानाथ मिश्रलाई सचिव पदमा बढुवा गर्ने निर्णय पनि गरेको छ ।
बैठकले सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सदनमा पेस गर्न स्वीकृति प्रदान गरेको छ भने सार्वजनिक सेवा प्रशारण नियमावली २०८२ स्वीकृत गर्नुका साथै विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदमा लक्ष्मण हुमागाईंलाई नियुक्त गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए ।
मन्त्रिपरिषद्ले जापान सरकारबाट छात्रवृत्ति परियोजनाका लागि प्राप्त हुने करिब ५३ करोड ७६ लाख बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको उनले जानकारी दिए ।
त्यस्तै, बैठकले नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशक पदमा वरिष्ठ वैज्ञानिक डा. कृष्णप्रसाद तिम्सीनालाई नियुक्त गर्ने निर्णय गरेको छ भने इपीएसमार्फत नेपाली नागरिकलाई रोजगारीका लागि कोरिया पठाउनेसम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने र उक्त समझदारीपत्रमा समकक्षी मिलाइ हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने निर्णय समेत भएको छ ।


प्रतिक्रिया