काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय सहमति भए हृदयेन्द्र शाहलाई राजा बनाउन सकिने बताएका छन्। जेठ १५ का लागि घोषित आन्दोलनका विषयमा सम्पादकहरूसँग भएको छलफलमा थापाले यस्तो बताएका हुन्। उनले भने, ‘राष्ट्रिय सहमति हुन्छ भने हृदयेन्द्र शाहलाई राजा बनाऔं । उहाँ २०-२१ वर्षको हुनुभयो।’
उनले यदि वृद्ध राजा चाहिए त्यसमा ज्ञानेन्द्र शाह पनि राजा बन्न तयार हुनुपर्ने बताए। उनले भने, ‘अब वृद्ध राजा चाहिन्छ भन्नु हुन्छ भने त्यसमा ज्ञानेन्द्र शाह पनि तयार हुनुपर्छ । यसबारेमा सहमतिमा आउनु पर्छ।’ उनले राजावादीहरूको वैचारिक अस्तित्व संकटमा पार्न दलहरू सक्रिय रहेको भन्दै त्यसविरुद्ध यो रियलाइजेसन महत्वपूर्ण रहेको बताएका छन्। वर्तमान सरकारले गणतन्त्रको विरोध गर्नु राज्यद्रोह हो भन्ने खालको कानुन बनाउन खोजेको थापाको भनाइ थियो । थापाले राजा बनाउने विषयमा हृदयेन्द्र शाहको नाममा सहमति भए ज्ञानेन्द्रले पनि मान्नु पर्ने बताएका छन्।
ज्ञानेन्द्र कसरी सुध्रिएको मान्ने ? पारस कसरी राजा हुन सक्छन् ? भन्ने पत्रकारको प्रश्नको जवाफमा उनले भने, ‘हृदयेन्द्रका नाममा सहमति भए ज्ञानेन्द्र पनि त्यसमा आउनु पर्छ । राजतन्त्र भनेको व्यक्तिको कुरा होइन। यो विचार हो। पृथ्वीनारायण शाहका उत्तराधिकारी नै हुने हो भन्ने हाम्रो मत छ। अहिले व्यक्ति को हुने भन्ने कुरा मुख्य होइन ।’
उनले अल्पसंख्यकहरूको हतियार नै जनप्रदर्शन भएकोले आफूहरूले सोही बाटो रोजेको पनि सुनाए। उनले राप्रपा नेपालसहित राजावादीहरू संविधान संशोधनको पक्षमा रहेको बताए। यसका लागि जनदबाब सिर्जना गरिरहेको उनको दाबी छ ।


प्रतिक्रिया